संरक्षणविनाको वृक्षारोपण

वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य हो । यसले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली जोगाई राख्न मात्रै भूमिका खेल्दैन पहिरो रोक्न, पानीको स्रोत बढाउन लगायतका अनेक फाइदा पु¥याउँछ । यही कारण पनि वृक्षारोपणका कार्यहरू हुँदै आएका छन् । त्यसमाथि वर्षायामलाई वृक्षारोपण गर्ने समयका रूपमा लिइन्छ । हरेक वर्षजसो निजी, सरकारी तथा गैरसरकारी संघ–संस्था र निकायलाई यो समयमा बिरूवा लगाउने चटारो हुन्छ । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ । यस्ता कार्य वा अभियान प्रशंसनीय छन् ।

हरेक कार्यको कुनै न कुनै उद्देश्य हुन्छ । सोही उद्देश्यप्राप्तीका लागि काम गरिन्छ । वृक्षारोपण कार्यक्रमहरूका उद्देश्य बिरूवा रोप्नु त हुँदै हो प्रकृति संरक्षणमा योगदान पु¥याउनु पनि हो । तर सबै कार्यले उद्देश्य प्राप्ती गर्दैनन् । हरेक वर्ष विभिन्न ठाउँमा गरिने वृक्षारोपण पनि त्यस्तै एक दृष्टान्त हो । वृक्ष रोप्ने तर त्यसको संरक्षण नगर्ने प्रवृत्ति फैलिदो छ । पछिल्लो समय बिरूवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ । प्रत्येक वर्ष वन डिभिजन कार्यालयहरूले वृक्षारोपणका लागि लाखौं बिरूवा वितरण गर्छन् । ती बिरूवा वनक्षेत्रमा रोपिन्छ पनि । तर, यसरी रोपिने बिरूवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् । जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरूवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरूवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरूवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ ।

डिभिजन वन कार्यालयहरूले वर्षेनी ठूलो संख्यामा बिरूवा रोप्ने गर्दछन् । उदाहरणका लागि भिडिजन कार्यालय सुर्खेतले यो पटक मात्रै दुई लाख १३ हजार दुई सय १० बिरूवा वितरण गरेको छ । यी बिरूवा रोप्नका निजी तथा सार्वजनिक निकायहरूलाई वितरण गरिएका हुन् । तर त्यसमध्ये कति रोपियो र रोपिएकामध्ये कतिलाई संरक्षण गरियो त्यसको जानकारी कार्यालयलाई नै छैन । केही सामुदायिक वनले वृक्षारोपणका साथसाथै त्यसको संरक्षण समेत गरेर उदाहरणीय कार्य गरेका छन् । तर अधिकांश वृक्षारोपणका कार्यक्रम देखावटी हुने गरेका छन् । तामझामका साथ रोपिएका बिरूवा सर्न र हुर्कन पाउँदैनन् । जथाभावी रूपमा वृक्षारोपण गरिँदा बिरूवा नबाँच्ने, जलवायु, माटो र प्राविधिक कुरा नमिल्ने लगायतका समस्याहरू देखिने गरेका छन् । वन विज्ञहरूका अनुसार बिरूवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसतर्फ रोप्नेहरूको ध्यान नै पुग्दैन । वृक्षारोपण गर्नु राम्रो हो तर रोपिएका बिरूवा सर्न र हुर्कन पाउने गरी संरक्षण गर्नु पनि वृक्षारोपण गर्नेहरूको दायित्व हो ।

प्रकाशित मितिः   २५ श्रावण २०७७, आईतवार ०६:०४