सवारीमा फेरि जोर–विजोर लागू

सरकारले आज (बिहीवार)देखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर–विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले जानकारी दिए । दुई सय जना भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लामा जोर–विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर–विजोर हटाएको थियो । यस्तै भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरूले जोर–विजोर लागू गर्न सुझाएका थिए । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरूले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोर–विजोर लगाउन सुझाएका थिए ।

यसैगरी सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीवारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

प्रकाशित मितिः   २२ श्रावण २०७७, बिहीबार ०६:०३