कर्णालीमा पनि प्लाज्मा थेरापीबाट उपचार

अब कर्णाली प्रदेशमा कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले यसका लागि कर्णालीको एकसहित १२ वटा अस्पताल तोकेको छ ।

नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ । सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।

सदस्य सचिव डा. ज्ञवालीका अनुसार दाता र रिसिभर दुवैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ । दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ ।

कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अवस्था गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ ।

प्रकाशित मितिः   २० श्रावण २०७७, मंगलवार ०६:०१