सडकको सास्ती

सडक विकासको एक पूर्वाधार हो । नागरिकको सुविधाको एक माध्यम । जसले एक ठाउँबाट अर्को ठाउँ मात्रै जोड्दैन, विकास र समृद्धि पनि जोड्छ । सम्बन्ध र भावना पनि जोड्छ । जसका कारण यो एक अपरिहार्य आधारभूत विकास पूर्वाधार बनेको छ । सडक अब साना र साँघुरा मात्रै रहेनन् । ठूला र फराकिला बन्दैछन् । राम्रा र सुविधासम्पन्न हुँदैछन् । तर भौगोलिक रूपमा विकस कर्णाली प्रदेशको ‘लाइफ लाइन’को रूपमा रहेको कर्णाली राजमार्गको अवस्था भने वर्षौंदेखि बदलिएको छैन । फेरिएको छैन । सडकले सुविधा त दिएको छ, सँगसँगै वर्षेनी नागरिकले भोग्नुपर्ने सास्ती पनि कम छैन । वर्षात्को मौसम यो राजमार्गको प्रतिकूल छ ।

यस वर्ष मनसुन अलिक चाँडै सुरु भयो । निरन्तर झरी परिरह्यो । यो क्रम अझै जारी छ । मौसमविज्ञहरूका अनुसार जारी मनसुन अझै केही महिना लम्बिने छ । अर्थात् वर्षात् कायमै रहनेछ । झरी केही दिन रोकिएपनि फेरी पर्नेछ । झरी पर्नु भनेको कर्णाली राजमार्गमा अवरोध सिर्जना हुनु हो । यो राजमार्ग यतिबेला दर्जनौं ठाउँमा अवरुद्ध छ । वर्सेनी वर्षात्को समयमा बाढी र पहिरोका कारण राजमार्गमा समस्या हुने गरेको हो । यसपालि पनि वर्षासँगै पहिरो खस्न थालेको छ । सडक अवरुद्ध भइरहँदा सुर्खेत–जुम्ला सडक खण्ड भएर यात्रा गर्ने नागरिकले सास्ती बेहोर्नुपरेको छ । पहिरोले सडक पुरिँदा यात्रुहरू अलपत्र पर्ने गरेका छन् । वर्षात्को समयमा मात्र नभइ खडेरीमा समेत यो सडक खण्डमा पहिरो खस्छ । सडकको जीर्ण अवस्थाले एकातिर दिनहुँजसो सवारी दुर्घटनाका घटना भइरहेका छन् भने अर्कोतिर सडक नै पुर्ने गरी आइराख्ने पहिरोले यहाँका नागरिक सास्ती भोग्न बाध्य छन् । पहिरोमा परी धेरैले वर्षेनी ज्यान समेत गुमाउने गरेका छन् ।

गत एक हप्ता यता पहिरोका कारण कर्णाली राजमार्ग ठप्प छ । राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रामा सकस भएको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार गत एक हप्तादेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरो समयमै पन्छाउन नसकिँदा सडक अवरुद्ध हुँदै आएको छ । राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडक खण्डमा दर्जनौं स्थानमा पहिरो झरेको छ ।

एकातर्फ पहिरोको पिरलो त छँदैछ अर्कोतर्फ राजमार्गमा पर्ने सबै स्थानमा पुलसमेत बनेका छैनन् । जसले गर्दा कतै खोला बढेर गाडी पार गर्न गाह्रो छ भने कतै पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यो वर्षेनी दोहोरिने समस्या हो । तर समाधानका लागि ठोस काम भइरहेको छैन । तीन तहकै सरकारहरूले राजमार्गको सडक स्तरोन्नतिमा ध्यान नदिदा पहिरोको जोखिम झनै बढेको छ । प्राकृतिक विपद्का घटनाले मात्रै होइन मानवीय त्रुटिका कारण पनि सडक दुर्घटना बढ्दो छ । कर्णाली राजमार्गलाई मृत्युमार्गको संज्ञा समेत दिने गरिएको छ ।

प्रकाशित मितिः   २० श्रावण २०७७, मंगलवार ०६:०१