आज जनैपूर्णिमा

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व आज (सोमवार) देशभर मनाइँदै छ । नवयज्ञोपवीत रक्षाबन्धन एवम् जनै धारण गरेर यो पर्व मनाउने गरिन्छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरू–पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

पौराणिक कथन

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरू–पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि साउन शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीति गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जांै, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रूद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरून्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्दछ ।

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवम् स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिने गरेका छन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७७, सोमबार ०६:०५