थप सावधानीको खाँचो

लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस (कोभिड–१९)को डर पनि कम भएजसरी गतिविधि बढ्दै गएको छ । तर अवस्था पूर्ण रूपमा सहज भने भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले अहिले पनि विश्वभर कोरोना महामारीकै अवस्थामा रहेको जनाएको छ । यसकारण अपनाउनुपर्ने सबै सतर्कता अपनाउन संगठनले आग्रह गरिरहेको छ । यता सरकारले पनि आवश्यक सावधानी अपनाउन भनिरहेकै छ । तर असावधानीपूर्ण कार्य बढिरहेका छन् ।

कोरोनाको जोखिमबाट पूर्णरूपमा मुक्त भइसकेको अवस्था अहिले छैन । दिनदिनै सानो–ठूलो संख्यामा संक्रमित फेला परिरहेकै छन् । संक्रमितको मृत्यु हुने क्रम पनि रोकिएको छैन । नयाँ नयाँ संक्रमित भेटिएका छन् । समुदायस्तरमा संक्रमण पुगेको पुष्टि पटक–पटक भइसकेको छ । यति हुँदाहुँदै पनि दिनप्रति दिन बढ्दो असावधानी भने अचम्मलाग्दो छ । जोखिम बढाउने खालको छ । सरकारी कार्यालयहरूमै सावधानी अपनाएको पाईंदैन । सेवाग्राहीको चाप हुने कार्यालयहरूमा भिडभाड बढ्दो छ । न एकअर्काबीचको दूरी कायम गरिएको छ न अरु सतर्कता अपनाइएको छ । यस्तो लापरबाही र हेलचक्य्राइँ नरोक्ने हो भने विकराल रूप निम्तिने जोखिमलाई रोक्न सकिदैन । करिब चार महिना लामो लकडाउनबाट बाहिर निस्कँदा मानिसहरूमा एक किसिमका उकुसमुकुस त हुन्छ नै तर सँगसँगै जोखिमसँग जुध्न आवश्यक सतर्कता अपनाउन भने भुल्नु हुँदैन ।

अब चाडपर्वहरू नजिकिदैं छन् । लगातारजसो विभिन्न पर्वहरू आउँदैछन् । पर्व भनेका मानिसहरू खुशी र उल्लासका अवसर हुन् । यस्तो बेला मानिसहरू भेला हुने, भिडभाड बढ्ने हुन्छ । तर अहिलेको कोरोना कहरमा सकेसम्म भेला र भिडभाड नगर्नु नै उपयुक्त हुन्छ । लकडाउनबाट बाहिर निस्किएसँगै सामूहिक कार्यहरूले निरन्तरता पाउन थालेका छन् । मन्दिरहरूमा पूजाआजा हुन थालेको छ । अन्य धार्मिक तथा साँस्कृतिक गतिविधि जुर्मुराउँदैछन् । त्यसमाथि हाम्रो सामाजिक संरचना नै धार्मिक र सांस्कृतिक पक्षले बढी प्रभावित गर्नेखालको छ । अधिकांश मानिस कुनै न कुनै रूपमा त्यससँग जोडिएका छन् । चाडपर्वहरूसँग उनीहरूको आस्था र भावना मिसिएको छ । यही आस्था र भावनाको अभिव्यक्ति पर्वहरूमा देखिन्छन् । अहिलेको संकटकालीन परिस्थितिमा मानिसले कसरी आफ्ना चाडपर्वहरूको उल्लासलाई मनाउँछ भन्ने कुरा यतिबेला प्रश्न बनेर उभिएको छ । यो किन पनि भने चाडपर्वहरू कोरोनालाई थप फैलाउने बहाना नबनुन् भन्नेतर्फ सतर्क हुनुपर्ने अर्को परिस्थिति सबैकासामु छ ।

कोरोनाको संकट समाधान नभइसकेको अवस्थामा हरेक व्यक्तिले अतिरिक्त सावधानी अपनाउनु अनिवार्य छ । त्यसमाथि चाडपर्वहरूको नाममा हुने विगतको भड्किलो वातावरण सकेसम्म नबनाउन सचेत हुनुपर्नेछ । एक व्यक्ति सचेत हुँदा ऊ आफै त सुरक्षित हुन्छ नै सँगसँगै परिवार र समाजलाई पनि जोखिममुक्त बनाउन मद्दत पुग्दछ । त्यसकारण चाहे अरु समयमा होस् या चाडपर्वको समयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र थप जोखिम निम्तिन नदिनका लागि हरेक व्यक्तिले थप सावधानी अपनाउनु अपरिहार्य भएको छ । जसमा व्यक्तिको मात्र होइन समाजकै हित छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७७, सोमबार ०६:०१