सक्रिय संक्रमित दुई सय १७

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण बढ्दो क्रममा रहे पनि संक्रमणमुक्त हुनेहरूको संख्या पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार यहाँ सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १७ मात्र छ । शुक्रवारसम्म संक्रमित एक हजार नौ सय ३८ मध्ये एक हजार सात सय २१ जना संक्रमणमुक्त भएका हुन् । यद्यपि लकडाउन हटिसकेकाले कोरोना संक्रमणको जोखिम भने बढ्दो छ ।

शुक्रवार एक जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतमा ४० जना, दैलेखमा एक सय २९ जना, जाजरकोटमा १२ जना, सल्यानमा नौ जना, मुगुमा एक जना र कालीकोटमा १२ जना कोरोनाका ‘एक्टिभ केस’ छन् ।

यस्तै शुक्रवार मात्रै १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशका तीन वटा जिल्ला कोरोना संक्रमणमुुक्त भइसकेका छन् । डोल्पा, रुकुम–पश्चिम र जुम्ला संक्रमणमुक्त भएका हुन् । महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दुई सय तीन जना आइसोसलनमा र अन्य १४ जना होम आइसोलेसनमा उपचाररत रहेको जनाए । तीमध्ये लक्षण देखिएका केही संक्रमितलाई आइसोलेसनमा लैजाने क्रम जारी रहेको उनले बताए । कर्णाली प्रदेशमा ५० हजार २५ जनाको आरडीटी र ४० हजार सात सय १३ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय कर्णालीमा आइसोलेशन र क्वारेन्टाइन रित्तिँदै गएका छन् । प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले अहिले बाहिरबाट आउने व्यक्तिहरूको संख्यामा कमी आएकाले क्वारेन्टाइनहरू खाली हुँदै गएको बताइन् । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन खाली गर्न भनेको छ । सोही अनुसार प्रदेशमा पनि तयारी भइरहेको निर्देशक भण्डारीले जानकारी दिइन् । कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने दैलेखका तीन, सुर्खेतका दुई र डोल्पाका एक हुन् ।

प्रकाशित मितिः   १७ श्रावण २०७७, शनिबार ०६:००