प्रदेशसभामा पत्रिका लैजान रोक

कर्णाली प्रदेशसभामा स्थानीय पत्रिका लैजान रोक लगाइएको छ । प्रदेशसभा सचिवालयले स्थानीय पत्रिका आपूर्ति बन्द गराइएको पत्र सम्बन्धित पत्रिकाहरूलाई पठाएको छ । कोरोना जोखिमको कारण देखाउँदै स्थानीय पत्रिका लैजान रोक लगाइएको हो ।

प्रदेशसभा सचिवालयले लेखेको पत्रमा अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि पत्रिका नल्याउन भनिएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोनाको जोखिम बढ्ने भएकाले पत्रिका आपूर्ति गर्न बन्द गरिएको बताए । उनले अनलाइनमार्फत पढ्न सकिने भएकाले पनि जोखिमका समयमा पत्रिका बन्द गरिएको तर्क गरे ।

सचिव बुढाथोकीले स्थानीय मात्र नभइ राष्ट्रिय पत्रिकाहरू पनि ल्याउन बन्द गरिएको जनाए । ‘अहिले कोरोनाको जोखिम भएकाले स्थानीय तथा राष्ट्रिय पत्रिका बन्द गरिएको हो । प्रायः अनलाइनबाट समाचारहरू पढ्ने भएकाले पनि जोखिमको समयमा हामीले पत्रिका बन्द गरेका हौं,’ उनले भने ।

प्रकाशित मितिः   १५ श्रावण २०७७, बिहीबार ०६:०१