विषालु च्याउ खाँदा चार जनाको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीमा विषालु च्याउको तरकारी खाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । यही साउन ९ गते जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना गम्भीर बिरामी परेका थिए ।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर के.एन. पौडेलले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमवार गाउँमै मृत्यु भएको थियो ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमवार नै सुर्खेत ल्याएको थियो । ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको चिकित्सकहरूको भनाइ । बिरामीमध्ये एक जनाको अवस्था अझै गम्भीर रहेको र तीन जनाको अवस्था सामान्य रहेको प्रदेश अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः १४ श्रावण २०७७, बुधबार ०६:०६
साझा बिसौनी ।