साटाखानीलाई वीरेन्द्रनगरमा गाभ्न माग गर्दै प्रदर्शन
सुर्खेत, २५ कात्तिक । दलहरूले आफ्नो अनुकुल स्थानीय तहको टुंगो लगाएको विरोधमा सुर्खेतको साटाखानीवासीले प्रदर्शन जारी राखेका छन् । आफूहरूसँग छलफल नै नगरी दलका नेताहरूले रातारात सहमति गरेर स्थानीय तहको खाका केन्द्रमा सिफारिस गरेको भन्दै सर्वसाधारणले विहीवार पनि प्रदर्शन गरेका हुन् ।
उनीहरूहरूले निर्णयमा पुनर्बिचार नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । जिल्ला प्राविधिक समितिले चार नगरपालिका र पाँच गाउँपालिकासहितको खाका केन्द्रका पठाएको छ । उक्त खाका आफूहरूलाई जानकारी नै नदिएर रातारात पठाइएको भन्दै जिल्लामा विरोध सुरु भएको हो । सदरमुकाम वीरेन्द्रनगरसँग जोडिएको साटाखानीका बासिन्दाले निर्णय सच्याउन माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले जिल्ला विकास समिति सुर्खेतको कार्यालयमा धर्ना समेत दिएका छन् ।
साटाखानीका बासिन्दाले आफूहरूलाई वीरेन्द्रनगर पायक पर्ने भए पनि पार्टीलाई खस्ने मतका आधारमा अन्यत्रै गाभिएको गुनासो गरेका छन् । यसअघि साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्ने सहमति भएको थियो । तर दलहरूले रातारात वीरेन्द्रनगरबाट झिकेर साटाखानीलाई लेकबेशी गाउँपालिकामा गाभ्ने सहमति गरेपछि उक्त प्रस्ताव केन्द्रमा पठाइएको छ । यसैको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै आएका छन् ।
प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार ११:२६
साझा बिसौनी ।