युवाहरूले गरे जीर्ण विद्यालयमा रंगरोगन

सुर्खेतः वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीको चाँदनी चोकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा स्थानीय युवाहरुले रंगरोगन गरिदिएका छन् । युवाहरुको समुहले विद्यालयमा सरसफाइ र जीर्ण भएको भवनमा रंगरोगन गरेका हुन् ।

२०४४ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले दुई सय १५ जना बालबालिकाहरु अध्ययनरत छन् । रेडियो भेरी एफ. एम. सुर्खेतका प्रबन्ध निर्देशक केशव कोइरालाको आर्थिक सहयोगमा विद्यालयमा रंगरोगन गरिएको हो । आफूहरुले गाउँ–टोलमा रहेको विद्यालयमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको देखेर रंगरोगन तथा सरसफाइ गरेको स्थानीय युवा बसन्त गिरीले बताए । विद्यालयका प्रधानाध्यापक निमबहादुर शाहले युवाहरुले गरेको कामको प्रशंसा गर्दै आभार व्यक्त गरे ।

पछिल्लो समय लाटीकोइलीका युवाहरु सामाजिक काममा अग्रसर हुँदै आएका छन् । उनीहरु पर्यटकीय स्थल तथा धार्मिक र साँस्कृतिक सम्पदाहरुको संरक्षणमा समेत जुटेका छन् । यहाँका युवाहरुको संक्रियतामा केही दिन पहिले काँक्रेविहार संरक्षण क्षेत्रमा जरायोको आहाराका लागी सुपर नेपियर घासँका १५ सय विरुवा रोपिएको थियो । स्थानीय युवा सुरज केसी र अनिल दाहालले आफूहरु सामाजिक काममा लागिरहदा जनप्रतिनिधि तथा अग्रज व्यक्तिहरुबाट हौसला र साथ पाइरहेको सुनाए बताए ।

विद्यालय सरसफाइ कार्यक्रममा स्थानीय युवा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठ, कैची ग्याङ समहुका युवाहरु समेतको सहभागीता रहेको थियो । सहभागी ३५ जना युवाहरुको लागी खाना र खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीलगायतले गरेका थिए ।

प्रकाशित मितिः   १० श्रावण २०७७, शनिबार १५:२९