बजार खुल्ने समय यथावत

वीरेन्द्रनगर बजार पूरानै समयअनुसार खुल्ने भएको छ । सरकारले मंगलवार रातिदेखि लकडाउन हटाए पनि यहाँका बजार भने पूर्ववत समयअनुसार नै खुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सुर्खेतले जिल्लाका बजारहरू यसअघि जारी गरेको समयतालिका अनुसार नै खुल्ने जनाएको हो । वीरेन्द्रनगर बजार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । साताको एक दिन शनिवार भने पसलहरू बन्द हुने गरेका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले लकडाउन हटे पनि भिडभाड व्यवस्थापनका लागि बजार पहिलकै समय अनुसार खुल्ने बताए ।

‘केन्द्रबाट आधिकारिक निर्णय आएको छैन,’ उनले भने, ‘जिल्लाको अवस्था हेरेर प्रशासनले समेत लकडाउन व्यवस्थापन गर्न सक्छ ।’ उनका अनुसार आज बिहीवारदेखि जिल्लाभर सार्वजनिक यातायात भने सञ्चालन हुनेछन् ।

यातायातमा जोर–बिजोर प्रणाली समेत यथावत रहेको रेग्मीले जनाए । ‘मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रूपैयाँ जरिवाना पनि यथावत छ,’ उनले भने, ‘मास्क नलगाउनेलाई आजदेखि मुस्कानसहित प्रहरीले एउटा मास्क समेत उपलब्ध गराउनेछ ।’ व्यङ्ग्यात्मक शैलीमा मास्क नलगाई हिँड्नेलाई मास्क उपहार दिएर नैतिक कारबाही समेत गर्ने तयारी प्रशासनले गरेको उनले बताए ।