साना व्यवसायीलाई लकडाउनको भारी

अर्जुन ठाकुरको वीरेन्द्रनगर बजारमा सैलुन छ । व्यवसाय चलाउन लिएको सटरको मासिक २५ हजार रूपैयाँ भाडा तिर्नुपर्छ । जनकपुरका स्थायी बासिन्दा उनी दुई दशक बढी समयदेखि यहाँ अर्जुन केश सुधार गृह नामको सैलुन चलाउँछन् । वर्षांैदेखि कपाल दाह्री काट्ने काम गरिरहेका उनलाई लकडाउन निकै भारी भएको छ । चार महिनायता व्यवसाय ठप्प छ । बन्द सटर कहिले खुल्ने टुङ्गो समेत छैन ।

कोरोना कहरले निम्त्याएको बन्दाबन्दीले उनीसँगै लामो समयदेखि त्यहाँ काम गर्ने अरु आठ जना पनि बेरोजगार भएका छन् । लकडाउनको मारले उनीहरू मात्र होइन आश्रित परिवारहरू समेत मर्कामा छन् । तीनले बिहान बेलुकाको छाक टार्ने मेसो पाएका छैनन् । परिवारको गुजारा चलाउने पिरलो त हुने नै भयो, व्यवसायको अनिश्चितताले झनै चिमोटेको छ ।

अर्जुन नेपाल नाइ संघ सुर्खेतका अध्यक्ष समेत हुन् । उनी भन्छन्, ‘सैलुन सेन्टरहरू खोल्न नदिएर सरकारले हाम्रो रोजीरोटी खोसेको छ ।’ आफूहरूलाई महङ्गो भाडा तिर्न र दैनिकी चलाउनै समस्या भएकोले सरकारले यस विषयमा सम्बोधन गर्नुपर्ने उनले बताए । ‘सरकारले भाडा मिनाहा गर्नेदेखि कर छुटसम्म गर्नुप¥यो होइन भने हामीलाई व्यवसाय चलाउन दिनुप¥यो,’ उनले भने ।

वीरेन्द्रनगरकै हटियाचोकमा अर्को सैलुन छ, कृष्ण हेयर कटिङ सेन्टर । जसका सञ्चालक हुन् जनकपुरकै जयकुमार ठाकुर । यिनी पनि उहीँ समस्याबाट गुज्रिएका छन् । बुधवार दिउँसो तीन बजे उनको पसलमा पुग्दा आधा सटर खोलिएको थियो । उनी एक जनाको कपाल काट्दै थिए । अरु सबै कुर्सीहरू खाली थिए । ती कुर्सीहरू महिनौंदेखि खाली मात्र छैनन् त्यहाँ काम गर्ने अरु सात जना पनि बेरोजगार छन् । ‘पाँच महिनायता भाडा तिर्न सकिएको छैन,’ उनले भने, ‘कहिलेकाहीँ प्र्रहरी प्रशासनको आँखा छलेर आधा सटर खोलिन्छ । दिनमा दुई तीन जनाको कपाल काटेको पैसाले छाक टारिएको छ ।’ उनले सरकारले नखोल्न भने पनि पेट पाल्ने बाध्यताले जोखिम मोलेरै फाटफूट काम गर्ने गरेको बताए ।

‘पहिले हाम्रो व्यवसाय राम्रो चलिरहेको थियो । लकडाउन भएपछि घर खर्च चलाउनै समस्या छ । पाँच महिनादेखि भाडा तिर्न सकेको छैन । मासिक २० हजार भाडा तिर्नुपर्छ । सरकारले अन्य व्यवसाय खुलाउँदै लिए पनि हाम्रो लागि केही सम्बोधन गरेन,’ उनले सुनाए । सबै व्यवसाय खोल्ने र सैलुनलगायतका व्यवसाय बन्द गर्ने निर्णय भएपछि आफूहरू झनै दुःखी भएको उनी बताउँछन् ।

बजारमा चर्को भाडा तिरेर सानो व्यवसाय गर्नेहरू यतिबेला लामो लकडाउनको मर्कामा छन् । सरकारले मंगलवार रातिदेखि लकडाउन अन्त्य गरेको छ । यद्यपि सैलुन तथा ब्यूटीपार्लरलगायतका व्यवसाय भने सञ्चालन गर्न नपाइने बताएको छ । नाइ संघका अनुसार सुर्खेतमा झण्डै डेढ सय सैलुन व्यवसाय छन् । लगभग सबै सैलुन व्यवसायी तराईका जिल्लाहरूबाट आएका हुन् ।

जनकपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहटलगायका जिल्लाबाट आएर व्यवसाय गरिरहेका झण्डै ७÷८ सय व्यक्तिहरू बेरोजगार भएका छन् । लकडाउनले यहाँ टिक्न नसकेपछि धेरै जसो व्यवसायी अहिले घर गएका छन् । केही सैलुन सञ्चालक भने सरकारले व्यवसाय खुलाउँला भन्ने आशमा पर्खिरहेका छन् । लकडाउन हटेसँगै वीरेन्द्रनगरमा मानिसहरूको चहलपहल बढ्दै गएको छ । उद्योग, व्यापार व्यवसाय सञ्चालनमा आइसकेका छन् । अन्य व्यवसाय जस्तै सैलुन पनि सञ्चालन गर्न पाउनु पर्ने उनीहरूको भनाइ ।

लकडाउन भएदेखि बन्द रहेका सैलुन र ब्यूटीपार्लर व्यवसायीले सरकारले एकतर्फी रूपमा बन्द यथावत नै राखेको भन्दै गुनासो गरेका छन् । वीरेन्द्रनगरमा ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी सुनिता रोकायले व्यवसाय ठप्प भएका बेला पनि मासिक २५ हजार भाडा तिर्नु परिरहेको बताइन् । ‘हामीले व्यवसाय बन्द गरिराखेर कसरी भाडा तिर्ने ? अन्य भिडभाड हुने ठाउँ खुलेकै छन् । सरकारको विभेदकारी निर्णयले हामी मर्कामा परेका छौं ।’ उनले आफूहरूले पनि स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय गर्न सक्ने भएकाले पार्लरहरू खुल्न पाउनुपर्ने बताइन् ।

सुर्खेतमा करिब तीन सयको हाराहारीमा ब्यूटीपार्लर व्यवसाय छन् । लकडाउनले गर्दा अहिले भाडा समेत तिर्न नसकेको मोन्टी ब्यूटीपार्लरकी सञ्चालक समेत रहेकी राष्ट्रिय सौन्दर्यकर्मी युनियन कर्णाली प्रदेशकी अध्यक्ष प्रमी शाक्यले बताइन् । ‘महिलाहरूले यहीँ व्यवसायबाट आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । लकडाउनले उनीहरूलाई ठूलो असर गरेको छ । सरकारले यसतर्फ ध्यान नै दिएको छैन,’ शाक्यले भनिन् ।

सरकारले करिब चार महिनादेखि जारी लकडाउन अन्त्य गरेको छ । सरकारले चैत ११ गतेदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरेको बन्दाबन्दी हटाएको हो । तर लकडाउन खुलाए पनि केही क्षेत्रमा भने बन्दाबन्दी यथावत नै छ । सरकारले विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र, तोकिएका बाहेक अन्तर्राष्ट्रिय नाका, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब, जिम क्लब, स्वीमिङ पुल, समूहमा खेलिने खेल, धार्मिक सामाजिक स्थल, पुस्तकालय, चिडियाखाना, सभा गोष्ठी, तालिम सेमिनार, प्रदर्शन भेलालगायतका क्रियाकलाप गर्न नपाइने भभनेको छ । यो निर्णयप्रति विशेष गरेर सैलुन र ब्यूटीपार्लर व्यवसायीहरू असन्तुष्ट देखिएका छन् ।

प्रकाशित मितिः   ८ श्रावण २०७७, बिहीबार ०६:०१