सुर्खेतमा एक सय १३ आत्महत्या

सुर्खेतमा आत्महत्याको दर उच्च देखिएको छ । जिल्लामा आत्महत्या गर्नेहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको हो । यहाँ गएको आर्थिक वर्ष २०७६/७७ मा एक सय १३ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा यो संख्या धेरै हो ।

जिल्ला प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले आत्महत्या गर्ने संख्या अघिल्ला वर्षहरूको तुलनामा समान देखिए पनि गएको आर्थिक वर्षभन्दा केही बढेको बताए । उनका अनुुसार आर्थिक वर्ष २०७३/७४ मा ७४ जना, २०७४/७५ मा ९१ जना र २०७५/७६ मा ९३ जनाले आत्महत्या गरेका थिए । गएको आर्थिक वर्षमा २० जना बढीले आत्महत्या गरेका हुन् । सुर्खेतमा प्रत्येक महिना सरदर १० जनाले आत्महत्या गर्ने गरेका छन् । एसपी भट्टले लकडाउनकै कारणले आत्महत्या बढेको हो भनेर भन्न नसकिए पनि एउटा कारण त्यो पनि हुनसक्ने औंल्याए । खासगरी घरायसी झै–झगडालगायत अन्य कारणले आत्महत्याका घटना भएको अनुुसन्धानका क्रममा खुल्ने गरेको उनको भनाइ छ ।

सुर्खेतमा लकडाउन अवधिमा मात्रै ५१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चैतयता ५१ जनाले आत्महत्या गरेका हुन् । तीमध्ये ४१ जनाले झुण्डिएर र १० जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । जसमध्ये पुरुष ३०, महिला १३ र आठ जना बालबालिका छन् ।

यस्तै जिल्लामा लकडाउन अवधिमा आत्महत्या पछि जबरजस्ती करणीका घटना पनि उत्तिकै देखिएका छन् । प्रहरीले दिएको जानकारीका अनुसार जबर्जस्ती करणीका १९ र जबर्जस्ती करणी उद्योगका ६ वटा घटना घटेका छन् । प्रहरीले जबर्जस्ती करणी उद्योग र जबर्जस्ती करणी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

यसैबीच, सुर्खेत प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ६ लाख ६२ हजार राजस्व संकलन गरेको छ । लकडाउन अवधिभर एक हजार ६५ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।