रित्तिदैछन् क्वारेन्टाइन

जिल्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइन रित्तो बन्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले जिल्लाभर चार जना नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् ।

तातोपानी गाउँपालिकामा एक जना महिला र तीन जना पुरुष मात्र क्वारेन्टाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताएका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका आठ सय बेडका क्वारेन्टाइनमा बसेर १४ दिनपछि दुई हजार सात सय नौ जना घर फर्किएको तथ्याङ्क रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेस्रो मुलुक र नेपाल भित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार एक सय २९ जना नागरिक जिल्ला भित्रिएका थिए ।

जिल्ला भित्रिनेमध्ये चार हजार सात सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । ‘कोरोना संक्रमितमध्ये ५४ जना निको भएर घर फर्केका छन् भने १५ जना प्रतिष्ठानको आइसोलेसनमा रहेका छन् ।’ त्यसैगरी चार सय ७९ जना नागरिकको आरडिटी परीक्षण गरिएको थियो ।