पुनः परीक्षण गर्न संक्रमितको माग

कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरूले पुनः पीसीआर परीक्षण गरेर मात्र घर पठाउन माग गरेका छन् । वीरेन्द्रनगरको बसपार्कमा स्थापना गरिएको आइसोलेसनमा रहेका संक्रमितहरूले अनिवार्य पुनः जाँच गर्नुपर्ने माग राखेका हुन् ।

१४ दिनसम्म आइसोलेसनमा राख्दा कुनै लक्षण नदेखिएपछि घर पठाउन लागिएको भन्दै उनीहरूले पुनः परीक्षण गरेर संक्रमण रहे–नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् । सरकारले कुनै लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर पीसीआर परीक्षण नगराएर घर पठाउँदा समाजमा घुुलमिल हुन आफूहरूलाई समस्या हुुने भन्दै उनीहरूले पुनः परीक्षण गर्नुपर्ने अडान लिएका छन् ।

बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरू माग पूरा गराउन आन्दोलित भएका छन् । उनीहरूले शुक्रवार भोक हड्ताल गरेका थिए । उक्त आइसोलेसनमा २७ जना संक्रमित छन् । आइलोसेलनमा बसेको १४ दिन पुगेकालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । तर पुनः परीक्षण गरेर संक्रमणको एकिन नगरी नजाने अडान संक्रमितको छ । एक जना संक्रमितले स्वस्थ भएको प्रमाण–पत्र लिएर मात्र घर जान सकिने बताए । उनले भने, ‘सरकारले १४ दिन राखेपछि घर पठाउने भनेको छ भनेर हामीलाई फेरि परीक्षण नै नगरेर पठाउन खोजियो । कोरोना संक्रमितलाई समाजले पनि अपहेलना गर्छ । पीसीआर परीक्षण नगरेर घर जाँदा हामीलाई झन् समस्या हुन्छ ।’

सोही आइसोलेसनमा रहेका अर्का ३२ वर्षीय युवाले पुनः परीक्षण नगर्दा समाजमा कोरोनाको त्रास झन् बढ्ने बताए । संक्रमणको एकिन गरेर घर जाँदा ढुुक्क भइने भएकाले उनले पुनः परीक्षण हुनुपर्ने माग गरेको बताए ।

यता वीरेन्द्रनगर नगरपालिकाले केन्द्रको मापदण्ड अनुुसार १४ दिन राखेपछि घर पठाउने जानकारी दिएको छ । नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अहिलेसम्म पीसीआर परीक्षण नै गराएर घर पठाउने गरेको र यदि धेरै संख्यामा भएपछि १४ दिन राखेर होम आइसोलेसनमा बस्ने गरेर घर पठाउने जानकारी गराएपछि नबुुझेर विरोध भएको जनाए । ‘संघीय सरकारले नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन भनेको छ । संक्रमितको संख्या बढ्दै गए हामीले त्यसैअनुुसार घर पठाउँछौँ’ उनले भने, ‘अहिले संक्रमितको पीसीआर परीक्षण पछि मात्रै घर पठाउने गरेका छौं ।’

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले सुुर्खेतमा मात्रै नभएर देशभर नै १४ दिन आइसोलेसनमा राखेपछि परीक्षण नै नगरेर पठाउने गरेको बताए । उनले लक्षण नदेखिएका केशहरूलाई घर पठाउने गरिएको जानकारी दिए । बरु घरमा एक हप्ता परिवारसँग सम्पर्कमा नरहेर होम आइसोलेसनमा बस्नुुपर्ने उनको भनाइ छ । यसरी समुुदायमा जोखिम नहुने भएकाले विश्वस्वास्थ्य संगठनकै गाइडलाइन अनुसार सरकारले निर्देशिका बनाएको उहाँले उल्लेख गरे ।

यसैबीच कर्णाली प्रदेशमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या एक हजार सात सय ३३ पुुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रवार थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मितिः   ३ श्रावण २०७७, शनिबार ०६:०१