बेकसुर चुँडिएको एउटा फूल
सम्झनाका लहरहरूमा सधैँ पतिका यादहरू बगाइरहने शर्मिलाका आँखाहरू आज निदाउन सकेका छैनन् । निदाउन् पनि कसरी, बिहे गरेको चार महिनामा हृदयभरि प्रेमको फूल फुलाएर उडेका उनी दुई वर्षपछि घर फर्किदैछन् ।
देशमा काम नपाएर थकित भएका चन्द्रमानलाई एउटा बास बसाउनु थियो । आफ्नी प्रियतमाका रहरहरू पूरा गर्नु थियो र पारिवारिक जिम्मेवारी सम्हाल्नु थियो । आफ्नो काँधमाथि आइपरेका यी तमाम जिम्मेवारी पूरा गर्न चन्द्रमानका अगाडि दुईवटा विकल्प मात्र बाँकी थिए । आफ्नो देशमा रोजगारी खोज्न केही समय भौतारिने या विदेश पस्ने । उसले दोस्रो विकल्प रोज्यो ।
चन्द्रमानले विदेश जाने निर्णय गरेसँगै शर्मिलाको मन भारी भयो । हृदयमा प्रेमको फुल मुस्कुराउँदै थियो । प्रेमको कुचीले जिन्दगीको दिवार बिस्तारै रङ्गिदै थियो । छातीभित्र प्रेमको सङ्गीत बज्दै थियो । त्यो सबै सौन्दर्यलाई ओझेल पारी उसले ।
आफ्नो श्रीमान्लाई हल्लाएका विदाइका हातहरूको कम्पनसँगै आफ्नो भावना साट्ने मनलाई सुदूर यात्रामा पठाइ उसले । बिदाइको त्यो समयमा उसलाई किनकिन हावाको झोक्काले थप्पड हानेजस्तै लाग्यो । सूर्यको प्रकाश आपूmबाट टाढा टाढा भागेजस्तो लाग्यो । जूनको शीतल रोशनीले आफुसँग मुख छोपेजस्तो लागिरह्यो उसलाई ।
चन्द्रमानको विदाइसँगै आफ्नो जिन्दगीबाट अनमोल चिजहरू गुमाएको महसुस गरी । अब बाँकी रहे शर्मिलासँग मात्र सम्झिनका लागि उसका यादहरू, कल्पनाका लागि उसँगका मिठा मिठा संवादहरू, हेर्नका लागि उसँग लिएका पोजपोजका तस्विरहरू ।
शर्मिला कल्पनाको दुनियाँमा रमाउँदै सोँच्छे, ‘अब त ऊ आउँछ, धेरै चिजहरू लिएर आउँछ । मैले अहिलेसम्म गुमाएका अनमोल चिजहरू लिएर आउँछ ऊ । जुन यादहरू हरेक रात सिरानी बनेर सुत्थे र सूर्य नब्यूँझदै ब्यूँझन्थे । अब ब्युँझाउँदैनन् मलाई ती निराश यादहरूले अनि बारम्बार आइरहने दूषित सपनाहरूले । अब रुवाउँदैनन् मलाई मुटुको धड्कनसँगै बज्ने ती प्रेमिल सङ्गीतहरूले । शर्मिलाले कल्पनाको मिठो लड्डु खाई ।
उता चन्द्रमानको यात्राभरि काँडे तारहरू थिए । दर्जनौँ ठाउँमा प्रहरीको कुटाई, आँखा छल्दै कोशौँ टाढाको यात्राले उसको पाइतालाका सात पत्र निस्किसकेका थिए । उसले आफ्नो सपनाको बोटमा कति फलहरू फलाउन सक्यो त्यो त थाहा थिएन, तर उसले अवश्य झारेको थियो आफ्नो उमेरको बृक्षबाट समयका फलहरू । पराई भूमिको हावापानी पिएर ऊ थप दुई वर्ष बूढो बनेर आएको थियो ।
चन्द्रमान पनि व्याकुल थियो । आफ्नी प्रियतमालाई भेट्न, आफ्नो परिवार भेट्न । प्रेमको त्यही शक्तिले त उसलाई दुःखका हजारौँ पहाडहरूलाई नाघ्ने साहस दिएको थियो । पराई भूमिमा भोग्नु परेका सारा अपमानहरूलाई उसले कालकुट विष जस्तै गरी पियो जसरी शिवजीले पिएका थिए । प्रेमको त्यही तागतले अनि आफ्नो सपनाको तस्विर सजाउने सुन्दर अभिलासाले उसले सयौँ तिरस्कारका वाणहरूलाई सहजै पचाइदियो । सयौँ कोशको यात्रा गर्दा सडकको निधारभरि पाइतालाले रातो टिका लगाउँदै आएको चन्द्रमानलाई आफ्नै देशको सिमानाले टक्क रोकिदियो केही दिनका लागि । कैयौँ दिनदेखि लागेको थकानको भारीलाई उसले त्यही सिमानामा विश्राम दियो । परिवार भेट्ने आफ्नो व्याकुलतालाई उसले परिस्थितिको झण्डा हल्लाएर सान्त्वना दियो ।
जब आफ्नो भूमि टेक्न पायो, चन्द्रमानले शान्तिको लामो श्वास फे¥यो । उसले अब आफुलाई सुरक्षित महसुस ग¥यो । कैयौँ दिनपछि आमाको काखमा बसेको बच्चाले जुन भव्य र दिव्यसुखको अनुभूत गर्छ, त्यही सुख मिल्यो उसलाई । पराइ भूमिमा गगनचुम्बी महल बनाउँदा बोकेका इट्टाहरूले हातमा छोडेका ठेलाका निशानीहरू जिउँदै सलबलाइरहेका थिए । काम बिगार्दा साहूले दिएको नमिठो उपहारका डामहरू शरीरमा अभैm साक्षी बनेर बसिरहेका थिए, अपमानित शब्दहरूले मुटुमै डेरा जमाएका थिए । अब भने उसलाई कुनै चिन्ता थिएन । यो त उसको आफ्नो घरको जमिन थियो । न त भय, न चिन्ता, न अपमान, न कष्ट जहाँ जसरी बस्नु परे पनि । ऊ ढुक्क भयो ।
स्वदेश फर्किएपछि ऊ धनुषा जिल्लाको कुनै एक क्वारेन्टाइनमा बस्यो । दुई हप्ता बस्नै पर्ने थियो । तर उसलाई किनकिन क्वारेन्टाइनको बसाइ एकदम कष्टपूर्ण अनुभव भयो । अनुभूतिमा कुनै प्रश्न हुँदैन, न त तर्क नै हुन्छ । त्यो त बाहिरी वातावरणले पार्ने हृदयमा उत्पन्न भएको गहिरो भाव हो । उसको सोचको दुनियाँ भन्दा बिल्कुल बेग्लै पायो उसले आफ्नो वर्तमानलाई । सामान्य आवश्यकताहरू पनि पूरा गर्न सकिरहेको थिएन ऊ बसेको क्वारेन्टाइनले ।
बिरामीले सुरक्षित अनुभव गर्नु पर्ने क्वारेन्टाइन आपैm असुरक्षित थियो । आफैमा एक रोग थियो । ऊ सिकिस्त बिरामी पर्यो । गल्ती कसको थियो, जिम्मेवारी कसले पूरा गर्नुपर्ने थियो, उसलाई केही थाहा थिएन तर त्यो क्वारेन्टाइन बसाइले पनि उसको जीवनमा अर्को एउटा नमिठो छाप छोड्यो । १७ वर्षको कलिलो उमेरमै १७ सय भन्दा बढी दुःखका चोटहरू बोकेको चन्द्रमानको शरीरलाई अस्पतालमा भर्ना गरियो ।
अस्पताल त बिरामीहरूको लागि भगवानको घर हो भन्ने बुझेको उसले आफ्नो आस्थाको मन्दिरमा भगवानको दर्शन नै पाउन सकेन । अस्पत्ताल भर्ना भएको बेला झुलुक्क देखिएको सेतो पोशाक फेरि कहिल्यै देख्न पाएन उसले । न परिवार, न आफन्त, न डक्टर आपूmलाई नितान्त एक्लो पायो चन्द्रमानले । परिवार र आफन्तलाई त परिस्थितिको विवशताले निषेध गरेको थियो, तर उसको रोग छाम्ने डक्टरलाई कुनविवशताले उसको छेउ आउन दिएन ? हजारौँ प्रश्नहरू उठे उसको मस्तिष्कभरी । उसले सुनेको थियो जीवनभर नभेटेका मान्छेहरू पनि मृत्युको संवेदनशील घडीमा भेट्न आइपुग्छन् तर ऊ त एक्लो थियो, नितान्त एक्लो ।
उसँग थियो त केवल डायरियाले एकदम कमजोर बनाएको एउटा निरीह शरीर । पानी समेत पिउन नपाई सुकेर कलेटी परेका ओठहरू थिए । भोकको अग्नि सल्किएर ढाडनिरै पुगेको विवश पेट थियो । उसको छटपटीलाई चुपचाप हेर्ने निर्जीव दिवारहरू थिए । उसले पानी माग्यो, उसले जिन्दगीको प्यास माग्यो तर उसको याचना सुन्ने त्यहाँ कोही थिएन, न कोही मानव थिए, न त मानवता थियो । थिए त आँखा अगाडि देखिने निर्जीव चार भित्ताहरू थिए । जसका आँखाहरूमा आँशुको भेल देख्यो उसले । उसको नजिकै लामालामा दाह्रा देखाएर अट्टहास गर्दै मृत्यु आएको आभास भयो उसलाई । उसले झट्ट सम्झियो शर्मिला अनि आफ्नो आमाबुवालाई । त्यसपछि सम्झिनको लागि न उसँग श्वास नै बाँकी थियो, न त उसले भोगेका हजार कष्टहरू थिए उसँग ।
उसको भयङ्कर मृत्यु देखेर विवेक लजाइरहेको थियो, सभ्यताले शिर निहँुराएको थियो ।
प्रकाशित मितिः ३ श्रावण २०७७, शनिबार ०६:०६
साझा बिसौनी ।