आन्दोलित व्यवसायीद्वारा बजार बन्द

सुर्खेत: चरणवद्ध आन्दोलन गर्दै आएका सुर्खेतका व्यवसायीहरूले सोमवार वीरेन्द्रनगर बजार बन्द गराएका छन् । घरधनीले भाडा र बैंकले ब्याज मागेपछि समस्यामा परेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

लकडाउन भएयता व्यापार ठप्प भएर व्यवसायी नै आर्थिक संकटमा परेको बेला बैंकहरूको ब्याज तिर्न नसक्ने भन्दै व्यवसायीहरूले सरकारले राहत प्याकेज ल्याउनुपर्ने माग अघि सारेका छन् । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरूले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरू आन्दोलित भएको बताए । व्यवसायीले बैंकिङ्ग कारोबार बहिस्कार गरी पसलसमेत बन्द गर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।

उनीहरूले सुर्खेतस्थित बैंकहरूमा बैंकिङ कारोबार बहिस्कार गरिएको ब्यानरसमेत टाँसेका छन् । आन्दोलनमा लागि गठित संयुक्त संघर्ष समितिले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र सांकेतिक साँचो बुझाएको छ । सरकारले व्यवसायीहरूलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको व्यवसायीको आरोप छ ।

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने बताए । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीको चेतावनी छ ।

प्रकाशित मितिः   ३० असार २०७७, मंगलवार ०६:०३