‘पीडितलाई राहत देऊ’

कर्णाली प्रदेशसभाका सांसदहरूले पहिरो पीडितहरूलाई राहत दिन सरकारसँग आग्रह गरेका छन् । प्रदेशसभाको शनिवार बसेको बैठकमा विशेष समय लिएर बौल्दै सम्बन्धित जिल्लाका सांसदहरूले जाजरकोट तथा रुकुम (पश्चिम)का पहिरो पीडितहरूलाई राहतको माग गरेका हुन् ।

प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बारेकोटमा गएको पहिरोको कारण मृत्यु हुनेका परिवार तथा घाइतेहरूलाई राहत दिन अनुरोध गरे । ‘पहिरोले ५० घर जोखिममा रहेका छन्’ उनले भने ‘सरकारले यो अवस्थामा विस्थापितको खोजी, घाइतेको उपचार र राहतमा ध्यान दिनुपर्छ ।’ अर्का सांसद रातो कामीले समेत पहिरोमा परी मृत्यु भएका परिवारलाई आवश्यक राहत दिनुपर्ने भनाइ राखे ।

यसैबीच शनिवारको बैठकमार्फत कर्णाली प्रदेशमा औद्योगिक व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ मा सैद्धान्तिक छलफल भइ संशोधन परेकोले थप छलफलका लागि अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाइएको छ । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले सेवा सुविधामा सुधार ल्याएको बताए ।

प्रकाशित मितिः   २८ असार २०७७, आईतवार ०६:०५