कर्णालीमा कोरोनाः सक्रिय संक्रमितभन्दा निको हुने धेरै

कर्णाली प्रदेशमा शनिवारसम्म कोरोना भाइरस (कोभिड–१९) का ‘एक्टिभ केस’ दुई सय चौबिस छन् । अर्थात् दुई सय चौबीस जनामा मात्र कोरोना संक्रमण छ । हालसम्म संक्रमण भएका एक हजार पाँच सय ९५ मध्ये एक हजार तीन सय ६५ जना कोरोनामुक्त भएका हुन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।

प्रदेशमा पहिलो पटक जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा दैनिकजसो ठूलो संख्यामा संक्रमित थपिए पनि केही दिनयता भने नयाँ संक्रमितको संख्या पनि न्यून छ । परीक्षणको दायरा बढाइएको भए पनि संक्रमित पुष्टि हुनेको संख्या कम हुँदै गएको हो । जेठको अन्तिमतिर तीन अंकमा पुगेको संक्रमितको संख्या अहिले एक अंकमा झरेको छ । शनिवार कर्णालीका सात जना नयाँ संक्रमित भेटिएका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाको केही दिन यताको तथ्याङ्क केलाउँदा संक्रिय संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या उल्लेख्य देखिन्छ । शनिवार मात्रै प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा आइसोलेशनहरूबाट संक्रमणमुक्त भएर १८ जना डिस्चार्ज भएका छन् ।

प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी संक्रमित दैलेखमा छन् । स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा सात सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखपछि कोरोना संक्रमण बढी भएको जिल्ला सुर्खेत हो । सुर्खेतमा चार सय १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सल्यानमा दुई सय ११, कालीकोटमा ५०, जुम्लामा ३४, जाजरकोटमा १९, रुकुम–पश्चिममा १५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, हालसम्म डोल्पामा चार, हुम्लामा दुई र मुगुमा पाँच जनामा संक्रमण देखिएको हो । प्रदेशमा कोरोना संक्रमण हुनेहरूमा अधिकांश पुरुष रहेका छन् । कूल संक्रमितमध्ये एक हजार चार सय ३८ पुरुष र एक सय ५७ जना महिला हुन् । प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काले पछिल्लो समय समुदायस्तरमा कोरोनाको संक्रमण फैलिसकेको भए पनि परीक्षण भएकाहरूमध्ये पोजेटिभ देखिनेहरूको संख्यामा भने कमी हुँदै गएको बताए ।

यसैबीच, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने भएको छ । पाँच हजार पाँच सय रूपैयाँ तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको हो । अस्पतालका निर्देशक खड्काका अनुसार नागरिकको सहजताको लागि पैसा तिरेर पीसीआर परीक्षण थालिएको हो ।

प्रकाशित मितिः   २८ असार २०७७, आईतवार ०६:०२