अनलाइन कक्षाका लागि कार्यविधि

मध्य– पश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले अनलाइन कक्षा सञ्चालनमा जोड दिएको छ । विश्वविद्यालयले कार्यविधि बनाएर अनलाइन कक्षा व्यवस्थित गराउन थालेको हो ।

विश्वविद्यालय प्राज्ञिक परिषद्को १०औं बैठकले अनलाइन कक्षा सम्बन्धी कार्यविधिलाई पारित गरेको छ । कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरू बन्द भइ पढाइ प्रभावित भएका बेला एमयूले अनलाइन सम्बन्धी कार्यविधि बनाएर व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयले ‘डिजिटल, भर्चूअल एण्ड अर्थेन्टिक टिचिङ लर्निङ एण्ड अपरेटिभ स्टिम’ २०७७ कार्यविधि ल्याएको हो ।

विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले तत्काल सामाजिक दूरी कायम गरेर पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्न सम्भव नभएकाले अनलाइन कक्षाका जोड दिन लागिएको बताए । ‘अनलाइन कक्षा सम्बन्धी महत्वपूर्ण गाइडलाइन बनाएर पारित गरिएको छ,’ उनले भने, ‘कक्षा कसरी सञ्चालन गर्ने, परीक्षा र प्रयोगात्मक कार्यक्रम कसरी गर्ने भन्ने विषयमा कार्यविधिमा उल्लेख छ ।’

लकडाउन भएसँगै अनलाइन कक्षा सुरु गरेको विश्वविद्यालयले यसलाई थप व्यवस्थित गर्न कार्यविधि ल्याएको हो । उपकुलपति सिंहले अहिले अनलाइन कक्षामा एउटा सेमेस्टर सकिए पनि अर्को सेमेस्टर पढाउने र लकडाउन पूूर्ण रूपमा खुलेर विश्वविद्यालय सञ्चालन भए विद्यार्थीहरूलाई दुुई हप्ताको समय दिएर परीक्षा दिने व्यवस्था गरिने बताए । उनले हाल विश्वविद्यालयका झण्डै ७० प्रतिशत विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुँदै आएको जानकारी दिए ।

यस्तै प्राज्ञिक परिषद्को बैठकले केही संकायका पाठ्यक्रम, प्रश्न, प्रयोगात्मक ढाँचा पारित गरेको छ । विश्वविद्यालयका प्राज्ञिक क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गर्न १३ वटा कार्यविधिहरू पनि पारित गरिएको उपकुलपति सिंहले बताए ।

प्रकाशित मितिः   २६ असार २०७७, शुक्रबार ०६:०३