परेवा र बाज (कविता)

वासुदेव पाण्डेय ‘प्रभाकर’

पापीहरू पण्डित पो भएछन्
सोझा यहाँ दण्डित पो भएछन् ।
साँच्चै अनौठो छ, यहाँ समाज
थुन्छन् परेवा नथुनेर बाज ।।

जे गर्नुपर्ने नहुने रहेछ
पाषाण दुख्दा नरुने रहेछ ।
आदर्श तर्सेर कसेछ टाप
थुन्छन परेवा नथुनेर बाज ।।

गर्छन् सबै मानिस आत्मश्लाघा
राम्रो गरेर खोट कि पुग्छ बाधा ।
आफन्तले थाप्छ बढी धराप
थुन्छन् परेवा नथुनेर बाज ।।

ढाडेहरूको व्यभिचार चल्छ
साँढेहरूको अधिकार चल्छ ।
सामन्तको हट्न सकेन छाप
थुन्छन् परेवा नथुनेर बाज ।।

जाली फटाहा पथभ्रष्ट मान्छे
हुन्छन् यहाँका अधिकांश भान्छे ।
सेता लुगा लाउँछ गर्छ पाप
थुन्छन् परेवा नथुनेर बाज ।।

सुस्ता दुखोस् वा लिपुलेक हाम्रो
को भन्छ खै काम भयो नराम्रो ?
मान्दैन सत्ता कहिले नि लाज
थुन्छन् परेवा नथुनेर बाज ।।

हाम्रो छिमेकी घरभित्र आइ
आफ्नो भन्यो गौतम बुद्धलाई ।
यो लुम्बिनी गर्छ सधैं विलाप
थुन्छन् परेवा नथुनेर बाज ।।

प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०१