‘विवाहपछिको प्रेम मजबुत हुन्छ’

जीवन सङ्घर्ष हो र सङ्घर्षपछि नै सफलता मिल्ने गर्छ । जीवनयात्रामा आउने अनेक मोडहरूले कहिले दुःख ल्याउँछन् भने कहिले सुख । तर जीवन त्यतिबेला सार्थकता हुन्छ जति बेला मेहेनतको फल पाइन्छ । 
हरेक व्यक्तिको सोच, सपना र इच्छाहरू भिन्दा–भिन्दै हुन्छ । यस्तै अन्य व्यक्ति भन्दा भिन्दै सोच भएका प्रकाश उप्रेतीको बाल्यकालदेखिको सपना थियो भविष्यमा एउटा सफल व्यापारी बन्ने । उनको लगनशीलता र मेहेनतकै कारण उनी आफ्नो सपना पूरा गर्न सफल भए । बुटवलदेखि पढाइको शिलशिलामा सुर्खेतमा आएका उप्रेती सुर्खेतमा नै एक स्थापित व्यवसायी बन्न पुगे । 
पिता पद्मराज उप्रेती र माता गीता उप्रेतीको कोखबाट २०३३ सालमा बुटवलमा जन्मिएका प्रकाश उप्रेती मध्यम परिवारका भए पनि बाल्यकाल सुखद्सँग बितेको थियो । बाल्यकालमा उनी सबैसँग मिलनसार नै थिए । उनको बाल्यकालदेखिको रुचि भनेको व्यापार व्यवसाय गर्ने थियो । उनले भने, ‘बाल्यकालदेखि नै मेरो ध्यान पढाइ भन्दा पनि व्यापार व्यवसायमा नै बढी ध्यान जाने गथ्र्यो । उनले माध्यमिक तहको पढाइ बुटवलमा नै सकेका थिए । उच्च शिक्षाका लागि उनी २०४९ सालमा सुर्खेतमा पढ्न आए । कक्षा १२ पास गरे पछि उनले दाइसँग मिलेर व्यापार सुरु गरे । उनी बाल्यकालमा पनि विद्यालयको खाजा खाने समयलाई बचाएर केही न केही व्यापार गर्ने गर्थे । उनले भने, ‘म विद्यालयको खाजा खाने समयमा पनि व्यापार गर्ने गर्थें ।’ 
पहिले दाइसँगै व्यापार गर्दै आएका उनले त्यसैलाई आफ्नो बनाए । सुर्खेतलाई कर्मथलो बनाएर व्यापार सुरु गरेका उप्रेती पछिल्लो समय सुर्खेतमा सफल व्यवसायीका रूपमा चिनिएका छन् । उनी भन्छन्, ‘पढाइमा डिग्री नगरे पनि व्यापारमा डिग्री गरेको छु ।’ पढाइको शिलशिलामा सुर्खेतमा आएका उप्रेती व्यापारमा रम्न पुगे ।
उनी व्यापार व्यवसायमा नै रम्दै थिए । घरबाट उनको विवाहको कुरा चल्न थाल्यो । अब विवाह गर्ने उमेर भयो  भनेर केटी हेर्ने तर्खरमा सबै जना जुटेका थिए । प्रकाश पनि घरपरिवारले भनेपछि नाइ भन्न नसकेर केटी हेर्नकै लागि बुटवल गए । धेरै केटी हेरे तर, उनलाई कोही मन परेनन् । हुन त देखेको भन्दा लेखेको पाइन्छ भनिन्छ । सायद त्यसैले पनि होला उनलाई केटी मन नपरेको । 
आफन्तकै चिनजानमा ‘रूपन्देहीमा एउटा केटी छ हेर्न जाने’ भन्ने कुरा चलेपछि प्रकाशसहित घरपरिवार सबै केटी हेर्न गए । प्रकाशलाई पहिलो नजरमा केटी मनप¥यो । उनलाई हेर्न गएको केटी अरु कोही नभएर अर्चना थिइन् । अर्चना त्यतिबेला कक्षा ११ मा पढ्दै थिइन् । अर्चना र प्रकाशको पहिले कहिल्यै देखाभेट भएको थिएन बोलीचालीको त कुरा परै थियो । प्रकाशको परिवारलाई अर्चना मनप¥यो, अर्चनाको परिवारलाई प्रकाश । यत्ति भएपछि विवाह पक्का भयो । उनीहरू भन्छन्, ‘विवाह भन्दा पहिला हाम्रो भेटघाट बोलचाल केही भएको थिएन, एक्कासी विवाहको कुरा चल्दा नै भेट भएको हो ।’ अर्चनाको घरपरिवारले पनि चिनजानको केटा माग्न आएपछि छोरी दिने निर्णय गरे । अर्चनालाई पनि बाबाआमाले जहाँ दिनु हुन्छ त्यही जानुपर्छ छोरी भएपछि भन्ने मानसिकताले गर्दा उनले घरपरिवारको कुरालाई काट्न सकिनन् । 
वि.सं. २०६० सालमा उनीहरूको मागी विवाह भयो । विवाह पछिका दिनमा अर्चना एक हप्ता जति बुटवलकै घरमा बसिन् । उनलाई त्यति बेलासम्म एक्लो र आफन्त माइतीको एक्लोपनाको महसुस भएको थिएन । उनले भनिन्, ‘म घरमा हुँदाखेरी सबै घरपरिवारसँग खासै अत्यास लाग्थेन ।’ जब उनी माइती घर सबै छोडेर कहिल्यै नआएको सुर्खेतमा आइन् । तब उनलाई एक्लोपनको महसुस हुन थाल्यो । साथमा श्रीमान् भए पनि माइतीको सम्झना र सुर्खेतमा पनि घरमा एक्लै बस्दा उनलाई रुन मन लाग्थ्यो र एकान्तमा बसेर रुने गर्थिन् । उनले भनिन्, ‘माइती घर सबैलाई छोडेर सुर्खेत आउँदा कति डाँडा पो कटाएर ल्याउनुभयो कस्तो ठाउँमा ल्याउनुभयो भन्ने लाग्ने गथ्र्यो ।’ जब उनी सुर्खेतको रहन–सहन र वातावरण घुलमिल सहन थालिन् तबदेखि उनलाई सुर्खेत नै मनपर्न थाल्यो ।
हुन त मान्छे जहाँ बस्यो त्यही रमाइलो हुन्छ । र त्यही वातावरणमा रमाउन थाल्छन् । अर्चना पनि सुर्खेतको वातावरणमा सहज रूपमा रमाउन थालिन् । एक्लोपनको महसुस नै हराउन थाल्यो । उनी भन्छिन्, ‘एक्लोपन र माइतीको सम्झनालाई उहाँको मायाले भुलाइ दियो, मायामा यति ठूलो शक्ति हुँदो रै’छ मैले उहाँकै मायाले सुर्खेतमा सबैको माया ममताबाट टाढा रहेर पनि उहाँसँगै रमाउन थाले यो सब सम्भव मायाले नै गराएको हो ।’ 
विवाह पछिका दिनमा उनीहरू घरपरिवार अलग रहेर सुर्खेतमा व्यापार व्यवसायमा दुवै जना लागिपरे । अहिले दुवै जना मिलेर सिद्धी स्टोर्स पसल सञ्चालन गरिरहेका छन् । जब दुवैको रुचि र मन एउटै हुन्छ त्यो जोडी नै हर काममा सफल बन्न सक्छन् । यो जोडी पनि मनदेखि नै हर काममा सहमति र सहकार्यमा गर्ने गर्छन् ।
व्यापारमा मात्र होइन उनीहरू घरको सबै काममा एकअर्काेलाई सघाउने गर्छन् । प्रकाश घर व्यापारदेखि सामाजिक काममा समेत जुटेर लागि पर्छन् । उनी सुर्खेत उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षको पदमा रहेर सम्पूर्ण व्यापारीहरूको हकहितका लागि काम गरिरहेका छन् । उनी बुटवललाई जन्मथलो र सुर्खेतलाई जीवन्त रूपमा कर्मथलो ठान्छन् । उनी भन्छन्, ‘मलाई सुर्खेतले धेरै चिज दिएको छ, अबका दिनमा सुर्खेतका र व्यापारीहरूका लागि नै काम 
गर्नेछु ।’ सुर्खेत उनको लागि जन्मथलो भन्दा बढी प्यारो लाग्ने गर्छ । किनकी उनी बुटवलमा जन्मिए पनि उनको कर्म, नाम र सामाजिक काममा अगाडि समेत सुर्खेतले नै बनाइदिएको छ । २४ वर्ष सुर्खेतमा नै व्यापार व्यवसाय गरिरहेका प्रकाश सुर्खेतलाई निकै माया पनि गर्छन् । 
श्रीमान् श्रीमती भएपछि कहिले काहीं झगडा हुनु उनीहरू सामान्य मान्छन् । कहिले काहींको झगडाले दुवैमा झन् माया बढाउने उनीहरूको भनाइ छ । यो जोडीको पनि कहिले काहीं सामान्य झगडा हुने गर्छ तर, झगडाले ठूलो रूप भन्दा पनि झगडा मायामा परिणत हुन्छ । 
पिता शंकरप्रसाद गौतम र माता महालक्ष्मी गौतमको कोखबाट २०४२ सालमा रूपन्देहीमा जन्मिएकी अर्चनाको बाल्यकाल सुखद्सँगै बित्यो । उनलाई बाल्यकालदेखि नै गीत गाउने, नाच्ने र खेलकुदमा भाग लिन साह्रै रुचि थियो । विद्यालयस्तरमा पढ्दा उनले धेरै पटक पुरस्कार पनि जितिन् । गीत, नाच र खेलकुदमा सधैं उनी भाग लिने र केही न केही स्थान हासिल गरेरै छोड्थिन् । खेलकुदमा उनी बढी दौडमा भाग लिने गर्थिन् । अर्चनालाई मात्र होइन गीत गाउन प्रकाशलाई पनि मनपर्छ । उनीहरू दुवै जना कहिले काहीं रमाइलोको लागि एकआपसमा दोहोरी पनि गाउने गर्छन् । उनीहरू भन्छन्, ‘कहिले काहीं रमाइलो गर्न दाहोरी पनि गाउने गर्छांै ।’ गीत संगीत सुन्न दुवैलाई औधी मनपर्छ । दुवै जना साथमा रहेको छोराको साथमा कहिले काहीं घुम्न पनि जाने गर्छन् ।
दुवैले एकअर्काेको काममा सघाउने गर्छन् । यो जोडी एकअर्काेको प्रशंसा पनि खुबै गर्छन् । प्रकाशलाई अर्चनाको आफू सन्चो नभएको समयमा धेरै ख्याल गर्ने बानी मनपर्ने गर्छ । हरेक मान्छेमा राम्रा र नराम्रा पक्ष त हुन्छन् नै त्यस्तै अर्चनाको पनि प्रकाशलाई अलि बढी रिसाउने र झन्किने बानी मन पर्दैन । त्यस्तै अर्चनालाई प्रकाशको आफ्नो जुनसुकै कुरामा पनि विश्वास गर्ने र साना–साना कुरा र हरेक काम गर्दा सल्लाह गर्ने बानी मनपर्ने गर्छ । त्यस्तै प्रकाशको सानो कुरामा पनि नबुझेर ठूलो स्वरमा बोल्ने बानी अर्चनालाई मन पर्दैन ।
उनीहरूका अनुसार जीवनसाथी एकअर्काेको सुख दुःख बिसाउने चौतारी हुन् । एकले अर्काेलाई छहारी दिने हरेक पलमा साथ दिने साथी हुन् । प्रेम भएर पनि विवाह हुनसक्छ । प्रेम नभएर पनि विवाह हुनसक्छ । विवाह पछि पनि प्रेम हुनसक्छ । प्रेम पछिको विवाह भन्दा विवाहपछिको प्रेम सफल र राम्रो हुने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘विवाह भनेको एउटा अटुट बन्धन हो, यसलाई दुवैले एकअर्काेको भावना बुझेर अगाडि बढ्न जरुरी छ ।’ नवविवाहित जोडीले पनि एकले अर्काेको भावनाको कदर गर्दै एकअर्काेको सम्मान गर्नसके मात्र दाम्पत्य जीवन सफल हुन्छ । श्रीमतीले माइतीघर सबै छोडेर श्रीमान्लाई सबै थोक सम्झेर आइसकेपछि श्रीमान्ले सधैं श्रीमतीको सम्मान गर्न सक्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रस्तुतीः गीता थापा
प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०४