नेतृत्वलाई दबाब दिन नेकपाका विद्यार्थी धर्नामा

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवा विद्यार्थीहरुले सुर्खेतस्थित पार्टीको प्रदेश तथा जिल्ला कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब स्वरुप धर्ना दिइएको हो ।

शीर्ष नेतृत्वबीच विवाद बढ्दै जाँदा पार्टी फुटको जोखिम बढेपछि पार्टी कार्यालयमा धर्ना बसेर विधि र पद्धतिअनुसार अघि बढ्न नेतृत्वलाई दबाब दिइएको युवा विद्यार्थी भरत गौतमले जानकारी दिए । ‘सिमित व्यक्तिको स्वार्थका कारण सिंगो पार्टी एकता नै संकटमा परेकोले दबाब दिन धर्ना बसेका हौं’ उनले भने ।

‘व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ’, ‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं !’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले धर्ना दिएका हुन् ।

अर्का विद्यार्थी नेता मिलन विसीले नेताहरु फुट्नेतर्फ नभई एकजुट भएर एकताका बाँकी काम सम्पन्न गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए ।

नेकपाभित्र विवाद चर्किदै जाँदा देशभर कार्यकर्ताहरुले दवावमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मितिः   २१ असार २०७७, आईतवार २०:०८