लकडाउनमा कडाइ

अत्यावश्यक बाहेकका पसल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खोल्न पाइने, खाजा पसल, सैलुन तथा ब्यूटीपार्लर पूर्णरूपमा बन्द, अटो–रिक्सा सञ्चालनमा रोक, अन्य सवारी साधनमा जोर–विजोर प्रणाली

जारी लकडाउन खुकुलो बनाएसँगै जोखिम बढेको भन्दै सुर्खेतमा लकडाउनमा केही कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएकाले पुनः लकडाउनमा कडाइ गर्न लागिएको हो ।

लकडाउन खुकुलो भएयता बजारहरू सञ्चालनमा आएपछि सुर्खेतमा चहलपहल निकै बढेको छ । जसका कारण कोरोना संक्रमण फैलने जोखिम पनि उच्च देखिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलि (शुक्रवार)देखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक, जोरविजोर प्रणाली अनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइने लगायतका निर्णय गरेको छ । पसलहरूमा भिडभाड बढी हुन थालेपछि प्रशासनले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस ‐कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले देशव्यापी रूपमा बन्दाबन्दी गरेको थियो । लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लंघन हुनथालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । सरकारले विभिन्न चरणमा लकडाउन खुकुलो गर्ने मोडालिटी बनाएको छ । जोखिमको अवस्था आँकलन गरेर विस्तारै खुकुलो गर्दै लैजाने सरकारको तयारी छ । यद्यपि, असार १५ को मन्त्रिपरिषद् बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरिसकेको छ । जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनमा कडाइ वा खुकुलो गर्न सक्ने भनिएको थियो । सरकारको यो निर्णयसँगै सुर्खेतका बजारहरूमा चहलपहल ह्वातै बढेको थियो ।

सुर्खेतमा बुधवारसम्म कोरोना संक्रमितको संख्या तीन सय ५४ जना पुगेको छ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । समुदायस्तरका २४ जनामा संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, क्वारेन्टाइनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा संक्रमण फैलिएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ६८ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित दैलेखमा भेटिएका छन् । दैलेखमा सात सय ६५ जनामा संक्रमण देखिएको छ । प्रदेशको संक्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रो हो ।

भीडभाड बढेपछि संक्रमणको जोखिम देखिएकाले यथास्थितिको लकडाउनमा थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘नास्ता पसल, होटल, रेष्टुरेण्ट खुलेको पाइयो । साँझमा अलि धेरै भिडभाड हुने र सावधानी अपनाएको पाइएन,’ प्रजिअ रेग्मीले भने, ‘सबैले स्वास्थ्य सतर्कता अपनाउन जरुरत देखियो ।’ उनले समुदायस्तरका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता अपनाउन लागिएको औंल्याए । यो निर्णय कार्यान्वयन गरेपछि त्यसको रिजल्टको आधारमा आगामी दिनमा मोडालिटी परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

सुर्खेतमा लकडाउनको बीचमा केही समय खाद्यान्न हप्तामा तीन र तरकारी, फलफूल र दुग्धजन्य पसलहरू बिहान–साँझ मात्रै खुल्ने गरेका थिए । हार्डवेयर तथा निर्माण सामग्रीका पसलहरू बिहान ११ बजेदेखि चार बजेसम्म खुल्दै आएका थिए । लकडाउन खुकुलो भएसँगै बजार तथा कार्यालयहरू लगभग पूर्णरूपमा नै खुलेका छन् । यी स्थानहरूमा स्वास्थ्य सावधानी कसैले पनि अपनाएको पाइँदैन ।

सुर्खेतमा भोलिदेखि लागू हुनेगरी बजार तथा सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ । तरकारी, फलफूल, दुग्धजन्य, ग्यास, औषधिलगायका अत्यावश्यक सेवा बाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै खुला गर्ने निर्णय भएको छ । अत्यावश्यक बाहेकका पसल कम्तीमा हप्तामा एक दिन बन्द गर्नुपर्ने भनिएको छ ।

होटल, रेष्टुरेण्टलगायतका खाजा–नास्ता पसल, सैलुन तथा ब्यूटीपार्लरलाई पूर्णरूपमा बन्द गर्नुपर्ने भनिएको छ भने प्याक गरेर डेलिभरी गर्ने होटल र रेष्टुरेण्टले भने आफ्ना उत्पादन बिक्री गर्न सक्नेछन् । खुला रहने पसलहरूमा अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक तथा अन्य सवारीसाधन जोरविजोर प्रणाली अनुसार मात्रै सञ्चालन गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मितिः   १८ असार २०७७, बिहीबार ०६:०१