अनलाइनमार्फत् खाद्यान्न खरिद गर्न सकिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले मंगलवारदेखि वीरेन्द्रनगरमा ‘नेपालफुड डट जिओभी डट एनपी’ पोर्टलको सुरुवात गरेको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले उक्त पोर्टलको शुभारम्भ गरेका हुन् ।

अबदेखि अनलाइनमार्फत् खाद्यान्न खरिद गर्न सकिनेछ । खाद्य व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणि राज खनालले उपभोक्ता सूचना प्रविधिमैत्री हुन जरूरी रहेको औंल्याउँदै कम्पनीले काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कर्णालीमा अनलाइन होम डेलिभरी सेवा सुरु गरेको जानकारी दिए । आम उपभोक्तालाई घर–घरमा सेवा दिनका लागि अनलाइन होम डेलिभरी सुरु गरिएको उनले बताए । सरकारले काठमाडौं उपत्यकाबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो । गत चैत २६ गतेदेखि सुरु गरिएको होम डेलिभरी सेवा सातै प्रदेशमा पु्‍र्‍याउने सरकारको लक्ष्य छ ।

मन्त्री बुढाले अनलाइनबाटै अर्डर गरेर खाद्यान्न खरिद गर्न सकिने भएकाले ग्राहकका लागि यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले कर्णाली सरकारले आगामी आर्थिक वर्षमा ४० हजार मेट्रिक टन खाद्यान्न खरिद गर्ने योजना बनाएको जानकारी दिए ।

प्रकाशित मितिः   १७ असार २०७७, बुधबार ०६:०५