कृषि विकासको उत्तम अवसर

असार महिना । धान रोप्ने मौसम । मानो रोपेर मुरी उब्जाउने समय । कृषकहरूमा हर्ष छाएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले देश आक्रान्त छ । लकडाउन पूर्ण रूपमा खुलिसकेको छैन । यद्यपि कृषकहरू भने खेतीपातीमा व्यस्त छन् । मुलुक नै कृषिप्रधान छ । ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन् । त्यसमाथि धान रोपाइँ प्रायः सबैजसो क्षेत्रमा हुन्छ । त्यसकारण पनि कृषकहरूका लागि यो उत्सवको मौसम हो ।

भौगोलिक विविधता भएको कर्णाली प्रदेशमा कतै रोपाइँ सुरु भइसकेको छ भने कतै तयारी चल्दैछ । यद्यपि प्रदेशमा पर्याप्त सिँचाइ सुविधा छैन । धेरै ठाउँमा आकासे पानीकै भर पर्नुपर्ने विडम्बना छ । तथापि यस वर्ष समयमै लगातार आकासबाट पानी वर्षिएकाले कृषकले समयमै बीऊ राख्न पाए । समयमै रोपाइँ गर्न पाएका छन् । गर्दैछन् । सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ चलिरहेको छ । बीऊ ढिला राखेका कृषकहरू उपयुक्त समयको पर्खाइमा छन् । त्यसो त धानका लागि मात्र नभएर तरकारी खेतीदेखि अन्य बालीहरू रोप्ने समय पनि हो, यो ।

प्रदेशमा दुई लाख ९९ हजार हेक्टर जमिन खेतीका लागि योग्य मानिन्छ । यद्यपि खेतीयोग्य सबै जमिनमा खेती भने हुने गरेको छैन । कर्णाली प्रदेशमा करिब ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ । दुई लाख १६ हजार ८ सय ८० हेक्टरमा मात्रै खेती गरिएको छ । गरिएको खेती पनि परम्परागत छ । पछिल्लो समय केही कृषकहरूले आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमा खेती गर्न थाले पनि अधिकांश क्षेत्रमा भने गुजारामुखि भइरहेको छ । जसले गर्दा पर्याप्त उत्पादन र आम्दानी लिनबाट किसानहरू चुकिरहेका छन् । त्यसो त पछिल्लो पुस्तामा कृषिप्रति आकर्षण छैन । अन्य पेसा–व्यवसाय र रोजगारीमा केन्द्रित छन् । बरू वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दो छ । जसका कारण कृषि क्षेत्र फस्टाउन सकेको छैन । कृषिमै निर्भर भएर पनि सोही क्षेत्रबाट अपेक्षाकृत लाभ लिन नसक्नुले गरिबी बढाएको छ । तर राज्यले वर्षेनी कृषि लक्षित योजना र बजेट ल्याए पनि प्रतिफल आउन सकेको छैन ।

कृषिकर्म फस्टाउन नसक्नुका अनेक चुनौती छन् । राज्यले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने गरी योजना ल्याउन सकेको छैन । यसबाहेक उत्पादन, बजारीकरणका समस्या समाधानमा ठोस काम भएको छैन । आधारभूत कुराहरूको पूर्ति गर्नै समस्या छ । उदाहरणका लागि अहिले बजारमा मलको अभाव छ । कृषकहरूले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । जसले गर्दा उत्पादनमा प्रत्यक्ष असर पर्नेछ । अहिले कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएका छन् । बेरोजगार जनशक्तिलाई खेतीमा आकर्षित गर्न सरकारले नारा दिए पनि प्रभावकारी योजना ल्याउन सकेको छैन । यदि अहिले कामविहीन भएको जनशक्तिलाई नै कृषिकर्ममा लगाउन सक्ने हो भने यो अवसर हुनेछ । कृषि क्रान्तिका नारा व्यावहारमै सार्थक बनाउने यो नै उत्तम समय हो ।

प्रकाशित मितिः   १४ असार २०७७, आईतवार ०६:०१