बढ्यो जोखिम

जेठको पहिलो साताबाट कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिन थाले पनि समुदायमा भने संक्रमण पुगिसकेको थिएन । जति पनि भेटिएका थिए ती सबै क्वारेन्टाइनमा भएकाहरू थिए । जसले गर्दा संक्रमण पुष्टि भएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । यसकारण उनीहरूबाट समुदायमा फैलिने जोखिम कम थियो । यही आँकलनका साथ सरकारी निकाय पनि ढुक्कजस्तै बनेका थिए । तर क्वारेन्टाइनमा भएकाहरूमा संक्रमण पुष्टि हुनेक्रम बढ्दै गइरहँदा समुदायस्तरमा समेत पुगिसकेको ढिला गरी थाहा भयो । यो खतराको सङ्केत हो ।

अहिलेसम्म प्रदेशमा जति पनि संक्रमित देखिएका छन् त्यसमध्ये अधिकांश हालै भारतबाट फर्किएका हुन् । तर पछिल्लो समय भारतबाट फर्किएका त होइनन् उनीहरूको सम्पर्कमै नपुगेकामा पनि संक्रमण पुष्टि भएको छ । उदाहरणका लागि डोल्पाका ५८ वर्षीय पुरुष, जसको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, न त भारतबाट फर्किएका व्यक्तिहरूको सम्पर्कमा नै गएका थिए । यस्तै केही दिनअघि मात्रै कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका दैलेखका तीन जनामा कोरोना संक्रमण देखियो । उनीहरू पनि भारतबाट फर्किएका नभइ समुदायमै बसिरहेकाहरू थिए । प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भयो । गएको आइतवार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना संक्रमण देखियो । उल्लेखित उदाहरण कर्णालीमा कोरोना समदुायमा फैलिइसकेको दृष्टान्त हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा समुदायका २२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाएको छ । केही निश्चित क्षेत्रबाहेक अरू सबै खुलेका छन् । मानिसहरू घरबाहिर आवत–जावत गर्न थालेका छन् । सरकारी तथा निजी कार्यालयहरू सञ्चालनमा आएका छन् । मानिसहरूको भिडभाड बढ्दै गएको छ । यस्तो अवस्थामा समुदायमा संक्रमण देखिनु अझ खतरापूर्ण अवस्था हो । जसले अर्को भयावह अवस्थाको सङ्केत गर्दछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले काम त गरेको छ तर प्रभावकारी भइरहेको छैन । क्वारेन्टाइन व्यवस्थापनमै सबैभन्दा धेरै रकम खर्चिएको छ तर तिनै क्वारेन्टाइन व्यवस्थित छैनन् । उल्टै संक्रमण फैलाउने माध्यम बनेका छन् । भारतबाट फर्किएकाहरूलाई केही दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । केहीलाई मात्रै परीक्षण गरिएको छ । सुरुदेखि नै पीसीआर परीक्षणलाई जोड दिनुपर्नेमा आरडीटी परीक्षणको भर पर्दा पनि संक्रमण समुदायमा पु¥याउन मद्दत मिल्यो । क्वारेन्टाइन व्यवस्थित नहुँदा भाइरस संक्रमणको जोखिम उच्च छ । क्वारेन्टाइनमा बसेकालाई रिपोर्ट नआउँदै घर पठाउन थालिएको छ । यसले गर्दा पनि समुदायमा संक्रमण फैलिने जोखिम बढेको हो । कर्णालीमा अहिलेसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । संक्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने देखिएको छ । यसतर्फ समयमै ध्यान दिन जरुरी छ ।