कोभिड बिर्सिएर भिड

कर्णालीमा अघिल्लो महिनासम्म कोरोना भाइरस ‐कोभिड–१९) कोे निकै त्रास थियो । आम सर्वसाधारण मात्रै होइन चिकित्सक र सरकारी अधिकारीहरू समेत त्रसित थिए । संक्रमण फैलिए के गर्ने ? कसरी नियन्त्रण र व्यवस्थापन गर्ने ? उतिबेला सबै सतर्क थिए, सावधानी अपनाएकै देखिन्थ्यो ।

सर्वसाधारण मात्रै होइन स्वास्थ्य पूर्वाधार कमजोर भएकाले यहाँका चिकित्सकहरू पनि त्रासमा थिए, भयावह स्थिति आउने र नियन्त्रणबाहिर जाने उनीहरूको आँकलन थियो । ‘अझै पनि त्यो अवस्था टरेको छैन । झन जोखिम बढेको छ,’ उनीहरू यसै भन्छन् । तर, मान्छेमा विस्तारै कोरोनाको डर हरायो । जसैगरी संक्रमण बढ्यो उसैगरी असावधानी पनि ।

यतिबेला कर्णालीमा संक्रमितको ग्राफ उकालो लागिरहँदा सावधानी भने शून्य छ । जोखिम बढेका बेला हेलचक्य्राइँले भने हद नाघेको छ । जोखिमपूर्ण समय छ । तर, त्यसको कसैलाई कुनै परवाह छैन । सडकमा आमसभा र ¥याली निस्कन थालेका छन् । अधिकांशले मास्क नलगाएको, दूरी कायम नगरेको देखिन्छ । बढ्दो असुरक्षित भीडले भयावह स्थिति आउने संकेत गरेझै भान हुन्छ । किन कि अब भारतबाट फर्किएर कवारेन्टाइन बसेका व्यक्तिहरूमा मात्रै संक्रमण सीमित छैन । संक्रमण समुदायमा गइसकेको छ ।

प्रदेश अस्पालका विशेषज्ञ डा. केएन पौडेलले लकडाउन खुकुलो भएसँगै कोरोना हरायो जसरी मानिसहरूले सावधानी अपनाउन छोडेको पाइएको बताए । उनी भन्छन्, ‘यो बेला तुलनात्मक रूपमा पहिलेभन्दा झन सर्तक हुनुपर्ने हो । समुदायस्तरमा संक्रमण फैलिसकेकाले जोखिम बढ्दो छ ।’ उनले पहिलेभन्दा बढी स्वास्थ्य सावधानी अपनाउनुपर्ने समय आएको औंल्याए ।

संक्रमित नदेखिँदै त्रसित र सतर्क रहेको कर्णाली यतिबेला भने चरम लापरबाही गरिरहेको छ । संक्रमण भुसको आगो झै भित्रभित्रै फैलिरहँदा सावधानीको कुनै गुञ्जायश छैन । जताततै असावधानी देखिन्छ । संक्रमण देखिनुपूर्व त्रास र सावधानी अपनाएका कर्णालीका नागरिकले संक्रमण बढ्दै जाँदा भने झनै व्यवस्था गर्न थालेका हुन् ।

अहिले सतर्कता र संवेदनशीलता अपनाउने गरिएको छैन । कोरोना संक्रमणबाट जोगिने मुख्य सावधानीको उपाय मानिएको ‘सोसल डिस्टेन्स मेनटन’ गरेको पाइँदैन । जताततै भीडै भीड छ । बजार र सार्वजनिक स्थानहरूका दृश्य हेर्दा लाग्छ मान्छेहरूले कोरोना बिर्सिसके । र, सतर्कता अपनाउनु पर्छ भन्ने नै भुले ।
कर्णाली प्रदेशमा ३२ दिनमा एक हजार दुई सय ३३ जनामा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण देखिएको छ । गत जेठ ५ गते पहिलो संक्रमण पुष्टि भएको प्रदेशमा झण्डै एक महिनाको अवधिमा संक्रमणको दर उच्च देखिएको हो । संक्रमण अंकगणितीय दरमा बढ्दै गए पनि यसबारे सतर्कता अपनाउन भने छोडिएको छ ।

लकडाउन खुकुलो भएयता राज्यका निकायले समेत निगरानी गर्न छोडेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भन्छन्, ‘लकडाउन खुुकुलो भएसँगै भिडभाड बढेको छ । यसले गर्दा जोखिम निम्तिने खतरा देखिएको छ ।’ उनले भिडभाड कसरी व्यवस्थित गर्नेबारे सरोकारवाला निकायसँग छलफल थालिएको बताए । भिडभाड बढी हुन थालेपछि बजार खोल्ने समयसीमा तोक्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहहरूले बनाएका क्वारेन्टाइन व्यवस्थित छैनन् । जसका कारण क्वारेन्टाइनमै समेत संक्रमण फैलने जोखिम छ । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकामा मात्रै शुक्रवारसम्म ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छोडिएको छ । सुरुमा भारतबाट फर्किकाहरूमा मात्रै देखिएको कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशका विभिन्न जिल्लाका गरी समुदायका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेशका दैलेख र सुर्खेत जिल्लामा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार दैलेखमा सात सय २४ र सुर्खेतमा दुई सय ७७ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण कर्णालीमा चार जनाको ज्यान गइसकेको छ । संक्रमणको मिटर बढ्दै गएका बेला सार्वजनिक स्थानहरूमा लापरवाही पनि बढ्दै गएको छ ।

प्रकाशित मितिः   ६ असार २०७७, शनिबार ०६:१०