राष्ट्रघात भर्सेस मधेस

‘हलो गाइज !’ सदाझैं आइतेले होस्टिङ गरिरहेछ । पैसा कम लाग्ने चालिस मिनेटवाला अनअपडेटेड् भर्सनको जुम स्टार्ट भइसकेको छ ।
झुमा, रहिना र बक्रामले प्रमिसन लिइसकेका छन् ।
‘हेलो आइते, के छ खबर ?’
‘अरे ओ ! बक्राम, रामराम । का हाल खबर बा ?’
‘दिदी जदौ । निकी छौं क्या ?’ रहिना एकै पटक हिमाल, पहाड र तराई सबैतिरका साथीहरूको हालखबर सकेसम्म उनीहरूकै भाषामा सोधेर अभिवादन गर्न भ्याउँछे ।
‘आलेकम सलाम ! कैसी है ?’ प्रतिउत्तरमा एकै पटक सबैको आवाज आउँछ ।
‘कता छ महाशंकर, आएन त ? रिक्वेस्ट नै पठाउँदैन त मूला ! ए…ए… आयो आयो,’ आइते उस्साहित हुन्छ ।
‘बाजे आइपुग्नु भएछ त । प्रणाम बाजे, कुशल–मङ्गल छ नि ज्यानलाई ? निकै ढिलो पो आइपुगियो त ? कतै थियो क्या हो यस्सो पैसो झर्ने ठाम् ? लाज नमान्नुस् बाजे जातैले दिएको पुख्र्यौली पेसा हो नि । पैसा आउने भयो भने त हजुरको त्रिनेत्रले हामीलाई बिर्सिहाल्छ नि, हे…हे…हे… बाज्जे !’ रहिना सदाझैं निउ खोज्न थालिहाली ।
‘चुप लाग् छ्यापुल्ली । मेरो के कुरा गर्छेस् हाम्रो शाखा–सन्तानले पण्डित्याइँ गरेन । बुझिस् । कति पटक तिमीहरूसँग बसेर बफ मःम खाइसकेँ । अझैं बाहुन भनेर हेप्न छोडिनस् है ? जीवनमा अरु सब होस् योजस्ती कचकचे श्रीमती नपरोस् यार ।’ महाशंकर हाँस्दै भन्छ ।
‘मै आउँला नि तेरो घरमा बत्तिसमा एक गुण मात्र कम भएकी बुहारी बनेर । अनि बिहान–बिहान घण्टी बजाउँला नि ! ओम जय जगदिश्वरे ! ही..ही..ही.. !’
‘अनि सुन्, डोरबहादुर बिष्टले बाहुनहरू गाई खान्थे भनी लेखेको बिर्सिस् क्या हो ? तिमी बाहुनहरू गाई खान्थ्यौ, के अनौठो भयो त भैंसीको मासु खाँदा ?,’ महाशंकरको जिब्रोबाट शब्द फुत्किन दिन्न जवाफ दिइहाल्छे रहिना ।
‘हेर न यो कचकचेको फेरि कचकच सुरु भयो । लकडाउनभरि कसैलाई चाट्न पाएकी थिइन होली, महाशंकरलाई त देखी नसहने भइस् है ?’ बक्राम बिचमा बोल्छ ।
‘हाय.. हाय.. ! मूर्ति । तँ बोलिस् भने त फिदा हुन्छु यार । क्या टाइमिङ दिन्छस् । सधंै बाहुन र मेरो मध्यस्तकर्ता नै तँ हुने भइस् । पख् म र बाहुन बिहे गरौंला । झगडा प¥यो भने मिलाउन तँ आइजा ल !’ रहिना हो रहिना । को सक्नु र बोलेर उसँग ।
‘ह्या चुप लाग यार तिमीहरू । दिदीको आपमान गर्न खुब आउँछ है ?’ आइते विषयवस्तुमा जाउँको सङ्केत गर्दै गफ नियन्त्रण गर्छ ।
झुमा बाहेक सबै उस्तै गफाडी छन् । उनीहरूका गफ झुमालाई मिठै लाग्छ । बेलाबेलामा भन्छे, ‘तिमीहरूका गफ फलफूल हुन् । आपसेआप स्वादिला । केही नमिसी मिठा हुने ।’ त्यसैले ऊ सिनियर भए पनि उनीहरूलाई नियन्त्रण गर्दिन । उसलाई लाग्छ यिनीहरू सबैले स्वतन्त्रताको भरपुर उपयोग गरून् । आपसमा सधंै यसरी नै खुलेर बोलून् ।
भनिन्छ नि ‘मान्छे जन्मदा स्वतन्त्र हुन्छ, हुर्कंदै जाँदा विस्तारै साङ्लोले बाँधिदै जान्छ ।’ तर झुमा आफ्ना जुनियर साथीहरू बाँधिएको हेर्न चाहन्न । ऊ चरीझैं खुला आकासको कावा खाऊन् भन्ने चाहन्छे ।
ऊ मसुमुसु हाँसिमात्र रहन्छे । जब कसैले दिदी भनेर सम्झाइदिन्छ उनीहरू एकाएका सतर्क भइहाल्छन् । अब बक्राम मात्र होइन सबै मूर्ती हुन्छन् ।
‘मलाई तिमीहरूको मौनताभन्दा चकचक मन पर्छ । कहिलेकाहीँ त लाग्छ तिमीहरू छौ र त जिन्दगीमा मज्जा छ ।’
यत्तिकैमा महाशंकर गोपाल योञ्जनको गीत ‘मेरो टोपी कैलाशको शिरजस्तो’ गाउन थाल्छ ।
रहिना बिचमै रोक्दै, ‘क्या खत्रा गीत गाइस् त । कुनसा टोपी नै लाउँछुजस्तो गर्छस् त ?’
‘अरे गाउनु परेन । पहिलो पटक सरककारले भारतीय दादागिरी बिरुद्ध बोल्ने आँट गरेको छ । अनि शिर ठाडो भएपछि त गीत गाउनै प¥यो नि होइन र गाइज !’
‘यार रहिना, तँलाई बधाई छ । बल्ल तेरा मधेसी नेताहरू राष्ट्रवादी लाइनमा आए । सधंै भारतीय गुलामी मात्र गर्ने तेरा नेताहरू त ।’
‘ओइ के भनिस् रे, फेरि भन् त ? को राष्ट्रवादी र को राष्ट्रघाती अनि गुलामी कसले गरेको छ, हिसाब गरेको छस्् ? पख बाहुन तँसँग हिसाब नगरी छाड्दिनँ ।’
‘भयो–भयो तिमीहरू धेरै झगडा नगर त । बरु यसो गरौं न, आज यही विषयमा छलफल गरौं । कस्तो होला दिदी हुजर नै भन्नुस् न ?’ आइते विषवस्तुमा छलफल गराउन अघिदेखि नै आत्तिरहेको थियो ।
उनीहरू हरेक पल्टको भेटघाटलाई उपलब्धिपूर्ण बनाउन खोज्छन् । समय यत्तिकै खेर जाला भन्ने पिरले आइते चनाखो भइहाल्छ ।
‘हुन्छ । यो महŒवपूर्ण विषय पनि हो । हामीसँग नेपाली राजनीतिबारे सतही ज्ञान मात्र छ । त्यसैले आरोप–प्रत्यारोपमा उत्रिन्छौं । कहिलेकाहीँ त मलाई हामी पनि उही पार्टीका झोले कार्यकर्ताजस्ता पो हुन्छौं कि भन्ने पिर लाग्छ । तर तिमीहरूको जिज्ञासु स्वभाव देख्दा सार्वजनिक फोरममा अधकल्चो विचार आउला भन्ने लाग्दैन ।
हामी हरेक विषयमा पोख्त भए राम्रो । सबै तिरको ज्ञान लिन पाए त झनै राम्रो । थ्री इडियट फिल्ममा आमिर खानको डाइलाग के रे बक्राम ?’
‘ज्ञान चारौं तरफसे बढ्राह है,’ उसले सम्झाइदिन्छ ।
‘हो हो आमिरले भनेजस्तै, हामीले पनि ज्ञान बढाउन सके त राम्रो नि । नसके पनि केही हदसम्म जानकारी लिने हो । हाम्रो ज्ञान भ्रम फैलाउने खालको नहोस् । महाशंकरले रहिनालाई पूर्वाग्रही भएर अरोप लगाएजस्तो हुनु भएन ।
खासमा मधेसबारेको हाम्रो बुझाइ निकै कमजोर भयो । सत्ताले निर्माण गरेको भाष्यको आधारमा हाम्रो धारणाको विकास भयो । हामी अहिले पनि मधेसलाई स्वच्छ आँखाले हेर्न सकिरहेका छैनौं । सायद हाम्रो सबैभन्दा ठूलो भूल यही भयो । हामी हिमालमा बस्नेहरूलाई हिउँदमा मधेसको हावापानी प्यारो लाग्छ । मधेसकै दाल चामलले हाम्रो भोक मेटिन्छ । कुना–कन्दरामा गएर मेधेसी शिक्षकले हामीलाई विज्ञान र गणित पढाइदिए पछिको भविष्य उज्जवल लाग्छ तर मशेसीलाई ठिक मान्दैनौं । यही नै हाम्रो खोटो विचार हो ।
आजको हाम्रो छलफलले यो विषयलाई क्लीयर गर्न जरुरी छ । ल रहिना, तिमी नै बोल त । तिमीले आफ्नो क्षेत्रको विषयमा कति बुझेकी छौ ? हामी त्यसैमा थपौंला । तिमी पहिला आफ्नो बुझाइ राख ।’
‘दिदी, मलाई आज बहुत रिस उठेको छ । ठट्टा त ठिकै हो । तर यसरी मर्ममा चोट पुग्दा औधी रिस उठ्दो रहेछ । हेर महाशंकर आज तँ मसँगै हुन्थिस् भने धोवी चुटाइ खान्थिस् । तिमीहरू पहाडीयामा एउटा दम्भ छ हामीले राजकाज चलायौं भन्ने । अनि हामी मधेसीलाई राष्ट्रघातीको ट्याग लगाइदिन्छौ । आफू चाहिँ खाटी राष्ट्रवादी कहलिन्छौ । मलाई लाग्छ यही नै हो पहाडिया राष्ट्रवाद भनेको ।
तिम्रो राष्ट्रवादले न हिमालको हित गरेको छ न त तराई–मधेसको । राष्ट्रिय पोसाककै एउटा उदाहरण लिऊँ न । ढाका टोपी, दौरा सुरुवाल वा महिलाहरूले लाउने गुन्यु–चोलीलाई हामी राष्ट्रिय पोसाक मानिरहेका छौं । तर के यो मधेस या हिमालमा फिट हुन्छ ? हिमाली र मधेसीले यस्तो पोसाक लगाउन सम्भव छ ? छैन । यो लादियो नि । खाए खा नखाए… भनेजस्तो ।
हामीले सानोमा नेपाल चार जात, छत्तिस वर्णको फूलबारी भनेर पढ्यौं । आज पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, सांस्कृतिक, भौगोलिक आदि इत्यादि विविधतावाला नेपाल भनेर फूर्ति लगाएकै छौं । तर व्यवहारमा मधेसी भारतीय दलाल नै देखिरहेका छौं, महाशंकरलेझैं ।’
जहाँसम्म राष्ट्रघातिको कुरा छ, त्यो विषयमा दिदीले भन्ने गरेको देउडा के रे, त्यो नदीको सम्झौतावाला गीत । मलाई ठ्याक्कै आएन । घाँटीसम्म आएको छ तर बाहिर आएको छैन । ‘घट आएन, पेट आयो’ भनेजस्तो । झुमा हाँस्दै देउडा गीत भन्छे,
‘विपीले गण्डगी बेचे, मात्रिकाले कोशी !
गिरिजाले टनकपुर बेचे, तीनै भए दोषी !!’
‘महाशंकर, निदाएको त छैनस् नि ?’ रहिना झस्काउँछे ।
‘छैन छैन । भन् न । तेरो कुराले छोइरहेको छ ।’ ऊ टोलाएर बसेको छ, टिमको नयाँ मूर्ती भएर ।
‘माथिको गीतमा भएका तीन वटै पात्र एउटै परिवारका हुन् । उनीहरूको बसाइँ मधेसमा भए पनि मधेसी होइनन् । तर आज उनीहरूकै कारण वर्षा लाग्दा मधेसीहरूको उठीबास हुन्छ । मोटाएकाहरू दुब्लाउँछन् । झुराहरू मर्छन् । मधेस नडुबेको कहिले छ ? वर्षामा कोसी बाँध आज फुटौं, भोलि फुटौं हुन्छ । यदि फुटिदियो भने ? त्यो दृश्यमा आफ्नो परिवार सङ्कटमा भएको कल्पना मात्रै गर्न सक्छस्, महाशंकर ? जुन हाम्रो नियती हो ।’
‘भयो यार कडा हानिस् । अब त थला पर्छु कि क्या हो !’ महाशंकर हायल कायल छ ।
‘सुन्ने क्षमता राख् । बाँकी कुरा धेरै छ । लद्दाखको सांसद नामग्यालले संसद्मा गरेको भाषण याद छ ? कांग्रेसलाई उनले ‘सुन्नेके क्षमता राखिए’ भनेको ? हो त्यस्तै सुन्नुलाई क्षमता बना साथी ।
गाइज ! आज मेरो पालो । माफी चाहन्छु, मैले तपाईंहरूलाई बोल्न दिइरहेकी छैन ।’
‘समस्या छैन, आज हामी सुन्छौं ।’ सबैले उसैलाई बोल्न लगाउँछन् ।
रहिना बोल्न थाल्छे, ‘महाकालीमा राष्ट्रघात गर्ने को हो ? मधेसी कि पहाडिया ? के ओलीले भनेझैं समृद्धिको सूर्य पश्चिमबाट उदायो त ? यी त भए सीमानाका सन्धि–सम्झौताहरू । माथिल्लो कर्णाली सम्झौता हुँदा भारतलाई नेपालको पहाडहुँदै हिमालसम्म छिर्ने वातवारण कसले बनायो ?
माथिल्लो कर्णाली भारतीय निर्माण कम्पनी जीएमआरलाई ३० वर्षको लागि सुम्पँदा हस्ताक्षर गर्नेहरू मधेसी थिए ? हिजोसम्म तराई डुब्थ्यो । माथिल्लो कर्णालीमा बाँध सहितको परियोजना मात्र बन्न दे न, राकम कर्णालीबासी डुबानमा परेर उठीबास भएपछि तिमीहरू थाहा पाउँछौ ।
हो म मान्छु, मधेसी नेताहरूका पनि आफ्ना समस्याहरू छन् । जसरी पहाडिया नेताहरूका समस्या छन् । समग्रमा हामीले भोगेको व्यवस्था नै गलत छ । खैर व्यवस्थाको विषमा फेरि छलफल गरौंला ।
तर यत्ति भन्, राष्ट्रघाती को ? नेपालको सुस्ता कालापानी लगायत ७१ ठाउँमासीमा मिचिएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको अध्ययनले नेपालको ६० हजार ८ सय हेक्टर जमिन भारतले हडपेको बताउँछ । के यो भूमि नक्सा पास गरेर मात्र आउँछ ?
सन् १८१६ को सुगैली सन्धि अनुसार काली नदी पूूूूूूूूर्वको भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रष्ट छ । जहाँसम्म विवादित भनिएको काली नदीको मुहानको कुरा छ, त्यो झन् क्लियर छ कि जहाँबाट ठुलो नदी बग्न सुरु गर्छ उही नै मुहान हो । भारतले काली नदीलाई कुटी यांदी भनी जालसाँझ गर्दा पत्याउने को हो ? विगत ५८ वर्षदेखि लिम्पियाधुरा नभएको नक्सा प्रचलनमा ल्याउने को हो ? जतिबेला मधेसीहरू सडकमै थिए ।
यो मुद्दालाई सशक्त बनाउनेतिर हाम्रो ध्यान छैन । संसद्मा उपेन्द्र यादव र राजेन्द्र महतोले बोल्दा राष्ट्रघाती, राष्ट्रवादी भए भन्न भ्याउने ? तर ओलीको राष्ट्रघात चाहिँ गधालाई धोएर गाई बनाएजस्तो मान्ने ? हाय राष्ट्रियता !
साँच्चै यादव र महतोले भनेझैं मधेसको कति पटक अग्नि परीक्षा लिने ? मधेसीहरू को हुन् खासमा ?
तपार्इंहरू नै भन्नुहुन्छ हामीलाई ‘धोती’ भनेर । उता भारतीयहरू हामीलाई नेपाली भनेर हेप्छन् । हाम्रो देश कुन हो बताइदिनु प¥यो । हामी उतै जाउँला । अनि मधेसीले सिके राउतलाई आफ्नो नेता मान्नु बाहेक विकल्प रहन्छ ?
अब म बोल्न सक्दिनँ । मेरो गला अबरुद्ध भयो । बक्राम, तँ पनि केही बोल् न । तेरो पिडा पनि उही हो । तर तँ त हामीजस्तो दोहोरो चपेटामा पर्नु परेन । चाइना र भारतबीचको नेपाल दुई ढुङ्गाबीचको तरुल होइन । दुई ढुङ्गाबीचको तरुल त मधेस हो ।’ सिरियस हुँदै उसले आफ्ना कुरा सकाइ ।
‘म के बोलौं ? मेरो भन्ने सबै तैले नै भनी सकिस् । मधेसमा बसोबास गर्ने रैथाने थारूहरूको विषमा पछि कुनै दिन छलफल गरौंला । आजलाई यत्ति भन्छु, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा निकै साँघुरो भयो । वास्तवमा हामीलाई मधेस, हिमाल, पहाड सबै आवश्यक छ ।
अहिले कर्णालीमा मधेस नहुनु ठूलो समस्या हो । हामी तराईकोले हिमाल र हिमालकाले तराई उपयोग गर्न पाउने गरी राज्यको पुनःसंरचना गर्नुपथ्र्यो । भोलि कुनै दिन आफ्नै देशका राज्यहरूबीच विवाद भयो भने ठूलो नोक्सान हुनेछ । दुई राज्यबीच आवत–जावत बन्द भयो भने आमा तराईमा तड्पिरहेकी हुनेछ, छोरी हिमालबाट आँसुको नदी बगाइरहेकी हुनेछ ।
संघीयताले विकास मात्र होइन विनाश पनि गर्छ । यही संघीयताकै कारण युगोस्लाभिया भन्ने देश ६ टुक्रामा विभाजन भएको हामीले बिर्सेका छैनौं । सोभियत संघ १५ टुक्रामा विभाजन भएको इतिहास लामो भइसकेको छैन । त्यसैले हामीले नेपालीको एकता भाँडिने गरी बोल्नु भएन । तर बहस भने गरिरहनु पर्छ ‘बादे बादे जायते तत्व बोध’ त्यसै भनिएको होइन ।’
‘वाओ ! तालिया, तालिया । कस्तो मिठो गरी बोल्यौ तिमीहरूले । मैले तिमीहरूबाट अपेक्षा गेरको यही थियो । आइते, महाशंकर कुरा बुझियो ?’ झुमाले प्रश्न गर्छे ।
‘बुझियो नि दिदी कस्तो क्लियर भयो । रहिना सेलुट गरे तँलाई, दामी दिइस् । अनि ओइ मूर्ति, आज चैं तैले कमाल गरिस् यार । अब तेरो नाउँ गिनिज बुकमा लेख्नुपर्छ ।’ आइतेले भन्छ ।
सबैजना एकैसाथ हाँस्छन् ।
‘सरी रहिना, मैले मधेस बुझेकै रहेनछु ।’ महाशंकर माफी माग्न खोज्छ ।
रहिना बीचमा रोक्दै, ‘नो सरी, नो थ्याग्स बुझिस्, टुप्पी ।’
‘लौ चालिस मिनेट खलाँस । आफै अफ हुन्छ । बाई गाइज ।’ होस्टको अन्तिम वाक्य । फाइभ, फोर, थ्री, टु, वान हुँदै जुम अफ हुन्छ ।
प्रकाशित मितिः ६ असार २०७७, शनिबार ०६:०९
साझा बिसौनी ।