५८ प्रतिशत संक्रमित दैलेखका

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७७ पुगेको हो । सोमवार थप एक सय १० जनामा संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि जेठ ४ गतेसम्म कर्णाली कोरोना संक्रमणबाट जोगिएको थियो । जेठ ५ गते पहिलो संक्रमण भेटिएको कर्णालीमा जेठ अन्तिमसम्म संक्रमितको संख्या एक हजार नाघेको हो । दिन प्रतिदिन संक्रमित बढ्दै जाँदा कर्णाली ‘रेडजोन’ र दैलेख देशकै कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ । प्रदेशका एक हजार ७७ संक्रमितमध्ये ६ सय २९ दैलेखका हुन् । यो संख्या प्रदेशको कूल संक्रमति संख्याको ५८ प्रतिशत हो । दैलेख रौतहट र कपिलवस्तुपछि देशकै धेरै संक्रमित हुने तेस्रो जिल्ला बनेको छ ।

प्रदेशमै पहिलो जेठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको थियो । हाल दैलेखका ११ वटै स्थानीय तहमा संक्रमण फैलिसकेको छ । दैलेखमा अङ्कगणितीय अनुपातमा संक्रमण बढिरहेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवारसम्म सुर्खेतमा दुई सय ३१, सल्यानमा एक सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पा र हुम्लामा एक–एक जनामा कोरोना पुष्टि भएको छ । अन्य प्रदेशका १६ जनामा कर्णालीमै गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ सय ९८ पुरुष र ७९ जना महिला छन् ।

प्रदेशमा हालसम्म एक सय ५१ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभर १२ हजार बढीको पीसीआर परीक्षण गरिएको छ । तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कर्णालीमा तीनजना बाहेक सबै भारतबाट आएका व्यक्तिहरूमा मात्र कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमितहरूको संख्या वृद्धि हुँदै जाँदा कोरोना संक्रमण नियन्त्रण गर्न चुनौती थपिएको छ ।

प्रकाशित मितिः   २ असार २०७७, मंगलवार ०६:०१