रोग, भोक र शिक्षा

 खगेन्द्रबहादुर खनाल

देश अहिले कोरोना महामारीको कहरमा छ । केही खुकुलो बनाइए पनि लकडाउन कायमै छ । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट सुरु भएको कोरोना भाइरसले संसारलाई पूर्णरूपमा तहसनहसको अवस्थामा पु¥याइरहेको छ । अहिले सिङ्गो संसार मानव अस्तित्वको लागि लडाइमा लागि रहेको छ । संक्रमण दिनानुदिन बढीरहेको छ । मृतकको संख्यामा भएको वृद्धिले कसैले पनि सुखको श्वास फेर्न सकिरहेका छैनन् । नेपालमा पाँच हजार बढी संक्रमित भइसकेका छन् भने १८ जनाले ज्यान गुमाइसकेका छन् । निजी क्षेत्रको रोजगारी प्राय गुमिसकेको छ, मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने स्थिति आइसकेको छ ।

बालबालिकाहरू अध्ययन गर्ने स्कुलहरू पूर्णरूपमा बन्द भएका छन् । बालबालिका घरमा बस्दाबस्दा दिक्क मान्न थालेका छन् । एसईई तथा कक्षा ११ र १२ को परीक्षाको तयारीमा लागेका बालबालिकाहरूमा एक्कासी आएको महामारीले निराशाको चाङ थुपारीदिएको छ । शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरू कहिले अनलाइन शिक्षा, कहिले टेलिफोन शिक्षाको लागि प्रचार–प्रसार गर्दै छन् । यद्यपी शिक्षा मन्त्रालयले एसईईका लागि कक्षा मूल्यांकनका आधारमा पास गराउने निर्णय गरिसकेको छ ।

निजी शिक्षाका संस्थाहरूले विद्यार्थीलाई पढाउने भन्दा पनि के वहानामा पैसा माग्न सकिन्छ भन्ने सोचका साथ यसलाई जोड दिइरहेका छन् । मानव आफ्नो अस्तित्वको लागि लड्दै गरेको अवस्थामा कहिले टेलिफोन शिक्षाको खबरले तरङ्गित पारीरहेका छन् । कतिपय निजी क्षेत्रका संस्थाहरूले विद्यार्थीको हितका लागि सम्पूर्ण कामहरू गर्नेछन् भन्ने कल्पना गर्न पनि सकिदैन ।

स्थानीय स्तरमा केही सरकारी विद्यालयहरूले टेलिफोनबाट शिक्षा प्रदान गर्ने तयारीमा लागेको समाचारहरू पनि आइरहँदा हामीसँग उपलब्ध शिक्षक, प्राविधिक ज्ञान, विद्यार्थीहरूको क्षमता, अभिभावकहरूको चेतनास्तर, भौगोलिक परिवेश, सामाजिक परिवेश आदि कुराहरूको अवस्था बुझ्नु अति आवश्यक छ । स्थानीय स्तरमा रहेका विद्यालयहरू पुरानो पद्दतिबाट कहिल्यै परिवर्तन हुन नखोज्ने, विद्यालयलाई राजनीति गर्ने थलो बनाउने, शिक्षकको मूल्याङ्कन कामका आधारमा भन्दा पनि राजनीतिक आस्था र आवद्धताका आधारमा गर्ने परिपाटि विकास हुनु, शिक्षक समाजको एक कुशल व्यक्तिभन्दा पनि कुनै दलको स्थानीय नेता देखिनु आजका दिनमा बडो दुःख लाग्दो कुरा हो । लकडाउनका बीचमा सञ्चालन गर्न खोजिएका अनलाइन र टेलिफोन शिक्षाका कक्षाहरू केही सकारात्मक त देखिन्छन् तर तिनको भनाइ र भोगाइबाट मात्र यथार्थ स्थिति बुझ्न सकिनेछ ।

सबैजसो निजी र केही सामुदायिक विद्यालयहरूले विद्यार्थीको कल्याणका लागि यी कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् त ? सम्पूर्ण विद्यार्थीहरूको पहँुचमा अनलाइन र टेलिफोनको सुविधा छ त ? प्रत्येक व्यक्तिहरूको घरसम्म विद्युतको पहुँच छ कि छैन ? विद्यार्थीहरूले आफूलाई लागेका कस्ता प्रश्नहरूको समाधान यो प्रणालीबाट सम्भव छन् ? गणितका तीन पृष्ठ रफ गरेर उत्तर आउने हिसाबहरूको समाधान टेलिफोनले गर्न सक्छ ? अंग्रेजीको निबन्ध लेखनका विषयमा अनलाइनबाट के परामर्श दिन सकिन्छ ? हामीसँग भएका शिक्षकहरूको योग्यता र सीप ह्वाईटबोर्ड बाहेक विद्यार्थीलाई बुझाउने सीपयुक्त छन् कि छैनन ? यस्ता कुराहरूको विस्तृत अध्ययन गरिएको छ कि छैन ? नगरभित्रका सम्पूर्ण विद्यालयहरूले समान रूपमा सहभागीता जनाएका छन् कि छैनन ? विद्यार्थीहरूलाई जीवनपयोगी सीप र सरसफाई सम्बन्धमा पर्याप्त जानकारी प्रदान गर्ने गरिएको थियो कि थिएन ? आदि प्रश्नहरूको सुक्ष्म रूपले अध्ययन र विश्लेषण गर्नु आवश्यक छ ।

शिक्षण सिकाइका कालोपाटीमा चकले लेखेर विद्यार्थीहरूलाई पाठ रटान गर्ने विधीबाट शिक्षा दिंदै आएका पुराना पुस्ताका गुरुहरूले मोबाईलबाट समस्याको हल गर्न सक्छन् त ? ह्वाईटबोर्डमा मार्करले लेख्दा नबुझ्ने विद्यार्थी र त्यसरी लेख्नसमेत अल्छी गर्ने शिक्षकहरूले अनलाइनका प्रविधिहरूको सरल र सहज ढङ्गले उपयोग गर्न सक्ने अवस्था हुँदैन ।

विद्यार्थीलाई प्राकृतिक वातावरणमा शिक्षण सिकाईको व्यवस्थापन गर्न सकिन्छ । प्रकृतिवादले शिक्षा प्राप्त गर्नका लागि शिक्षकको स्थानलाई गौण मानेको छ । बालकको स्वतन्त्रतालाई नै महŒवपूर्ण मान्दै बालकले अनुभवका आधारमा सिक्नु नै शिक्षा हो यसलाई थुपार्नु हँुदैन भन्ने धारणा रहँदै आएको छ । हाम्रो सामाजिक परिवेशमा शिक्षा प्रदान गर्नुलाई शिक्षकले पाठ्यक्रममा आधारित रहेर घोकाउने, त्यही आधारमा तयारी गर्ने र परीक्षामा निश्चित समयभित्र लेख्न लगाएर पास–फेल तथा योग्य ठान्ने प्रणालीको विकास भएको छ । शिक्षा क्षेत्रका विविध दर्शनका आधारमा सिकाईलाई व्यवस्थापन गर्न सकिने वातावरण विकास भएको छैन । नेपालमा विभिन्न आन्दोलनहरूसँगै शिक्षा क्षेत्र सुधारका लागि पनि विभिन्न आयोगहरू,तथा शिक्षा सम्बन्धी संस्थाहरूको विकास हुँदै आजको दिनसम्म आइपुगेको अवस्था छ ।

‘शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो’ भन्ने जोन डिबेको भनाइबाट पनि के बुझिन्छ भने हामीले यहीँ जीवनका लागि गर्नुपर्ने कामका लागि शिक्षाको आवश्यकता परेको हो । जहिले पनि तयारी गरिरहने हो भने हाम्रो शिक्षा निरर्थक हुन्छ भन्ने विचार उनले प्रदान गरेका छन् । निजी तथा सरकारी विद्यालयहरूबाट हामीले आजसम्म अध्ययन गराँउदा बालबालिकालाई कहिल्यै जीवन जीउने विविध तरिकाको बारेमा अध्ययन गरायौं ? शिक्षा आफैमा जीवन हो भन्ने दृष्टिकोणलाई बालमनोविज्ञानमा स्थापना ग¥यांै कि गरेनौं । हामीले लगातार १०–१२ वर्ष अध्ययन गराउँदा सिकाउन नसकेका के कुरा छुटे र हामी आज अनलाइन र टेलिफोनको प्रयोग गर्दैछौं ? हामीले विपत् व्यवस्थापनका सम्बन्धमा बालबालिकालाई के–के सिकाएका थियौं र आज समाजमा फैलिएको महामारीमा के–कस्ता भूमिका निर्वाह गरिरहेका होलान् ? हाम्रा बालबालिकालाई टेलिफोन शिक्षा सुरु गर्नुपूर्व कहिल्यै उसको घरमा गएर एक पटक अवलोकन ग¥यौं कि बालकलाई शिक्षा जरुरी भयो भनेर ?

हामी कुनै पनि काम सस्तो लोकप्रियता कमाउनका लागि गर्दैछौं भने ठीकै हो तर हामीले पढाएको शिक्षा काम लागिरहेको छ कि छैन, हामी शिक्षक र विद्यालयका व्यवस्थापकले कहिल्यै विद्यार्थीको आँगन अनुगमन गरेका छौं कि छैनौं ? हाम्रा बालबालिकाले आज समाजमा सरसफाई सम्बन्धमा कतिको जनचेतना जगाएका छन् कि छैनन् । रक्सी सेवन गरी दिनहुँ घरमा झगडा गर्ने अभिभावकको पीडाबाट हाम्रा विद्यार्थीहरू पीडित त छैनन् । हाम्रा बालबालिकाले अभिभावकालाई खेतबारीको काममा सघाएका छन् कि छैनन्, चौबाटोमा रहेको सानो बजारमा बिहानदेखि बेलुकासम्म क्यारेमबोर्डको गोटी खेल्दै र तासका खेलमा सहभागीता जनाउँदै बसेका छन् कि यसको सुक्ष्म अनुगमन हामी व्यवस्थापक र शिक्षकहरूबाट भएको छ कि छैन ? आज लकडाउनले अभिभावकको रोजगारी गुमेर सहर तथा विदेशबाट दुःखका साथ गाँउघरमा आइपुगेका छन् । सामान्यतया खाद्यान्नको समेत अभाव रहेको अवस्था छ । खेतबारीमा लगाएका मकैमा विभिन्न किराहरूले नष्ट बनाइदिएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले राहतका नाममा केही वितरण गरेका छैनन् वितरण गरे पनि आफ्ना–आफ्ना मान्छेलाई छनोट गरी वितरण गर्दैछन् ।

यस्तो अवस्थामा विद्यार्थीको खाने कुरा के छ, कस्तो अवस्थामा बसेको छ, त्यस सम्बन्धमा सोधखोज गर्न कोही पनि आइपुगेका छैनन् । एकैचोटी टेलिफोनबाट पढाई सुरु गरिने कुरा फेसबुकभरि फैलिन्छ । शिक्षकहरूको फोटोसहित फोन नम्बरहरू देखिन थाल्दछन् । विद्यार्थी भने कसरी कसको मोबाईल मागेर फोन गर्ने हो अलमलमा देखिन्छन् । हामीले यतिका वर्षसम्म पढाउन नपाएको के कुराले हामीलाई झस्कायो र मोबाईल अनलाइनबाट त्यस्ता गुरुमन्त्र सुनाउँदै छांै । जीवन नै बदल्न मिल्ने शिक्षा दिने तयारी हो र बालकलाई जीवनको वास्तविक गुरुमन्त्र दिने पद्दति हो भने म पनि मोबाईल बोकेर प्रश्न गर्न सक्छु महामारीमा रोग र भोकबाट बाँच्ने उपाय के होला गुरुज्यू ?

तीन महिना लकडाउनमा राख्दासम्म १० किलो चामल प्रत्येक परिवारलाई राहत उपलब्ध गराउन नसक्ने सरकारले विद्यार्थीहरूको पालनपोषणका सम्बन्धमा केही सोच्यो अहिलेसम्म ? यतिबेला शिक्षाको बोझ होइन जीवनलाई सुरक्षित ढङ्गले बचाएर बस्ने बेला हो । स्वअध्ययनमा विद्यार्थीलाई जागरुक बनाउन सकिएला तर विद्यार्थीको जीवन रक्षाका लागि एक छाक खाना र जीवनको आशाको जरुरत हुन पुगेको छ । जीवनमा प्राप्त भएको शिक्षालाई सही तरिकाले उपयोग गरी आजका दिनमा महामारीसँग बच्यौं भने मात्रै सकारात्मक र सुन्दर समाज निर्माण गर्न सकिएला । जीवन रक्षापछि शिक्षा प्राप्त गर्ने र अनलाइनबाटै कक्षाहरू चलाएर चमत्कार गर्नु परे पनि ठीक छ । अहिलेलाई सबै मिलेर विद्यार्थीको प्राण बचाउन सक्दो पहल गरौं ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार ०६:०२