प्रदेशको बजेट भोलि

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भोलि ‐असार १) गते बजेट ल्याउँदै छ । कोरोना कहरकाबीच कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ल्याउन लागेको हो । सोमवार ११ बजे प्रदेशसभाको बैठक बस्ने कार्यतालिका छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा आगामी वर्षका लागि ३३ अर्ब हाराहारीको बजेट बजेट पेस गर्नेछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारहरूले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

प्रदेश सरकारले यसअघिका नीति–कार्यक्रम र बजेटलाई पूर्वाधार केन्द्रित गर्ने गरे पनि यस पटक भने स्वास्थ्य र उत्पादनमा जोड दिने भएको छ । स्वास्थ्य पूर्वाधार र जनशक्ति थप्ने, कोरोनाको महामारीका कारण रोजगारी गुमाएका र प्रदेशमै रहेका बेरोजगारलाई रोजगारी दिने तथा रोग र भोकमरीबाट नागरिकलाई बचाउने गरी बजेट ल्याउने तयारी सरकारको छ ।

आगामी बजेट स्वास्थ्य, खाद्य सुरक्षा र रोजगारीमा केन्द्रित हुने मन्त्री ज्वालाले बताए । ‘कोरोना भाइरसको महामारी सँगसँगै भोकमरी र बेरोजगारको समस्या बढ्ने देखिएकाले यस पटक बजेटको मोडालिटीमा केही परिवर्तन गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य, खाद्य आपूर्ति, रोजगारी र कृषि आगामी बजेटका प्रमुख प्राथमिकता हुने छन् ।’

मन्त्री ज्वालाका अनुसार आगामी बजेट यसअघिका बजेटहरूभन्दा केही फरक हुनेछ । यो पटक राजस्वको स्रोत घटेको र विशेष परिस्थिति भएका कारण बजेटका प्राथमिकतासँगै आकार पनि घट्ने छ । सरकारले चालु आवभन्दा झण्डै एक अर्ब कम बजेट ल्याउन लागेको हो । प्रदेश सरकारले चालु आवमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रूपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि भने ३३ अर्ब रूपैयाँको बजेट ल्याउन लागेको हो ।

प्रकाशित मितिः   ३२ जेष्ठ २०७७, आईतवार १५:५१