कोरोना रोकथाममा २५ करोड खर्च

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा हालसम्म साढे २५ करोड रूपैयाँ खर्च गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सरकारले २५ करोड ६८ लाख ८३ हजार चार सय २८ रूपैयाँ खर्च गरेको हो ।

स्वास्थ्य पूर्वाधार निर्माण, कोरोना परीक्षण, उद्धार, क्वारेनटाइन व्यवस्थापन, स्वास्थ्य सुरक्षा सामग्री खरिद लगायतमा सो रकम खर्च भएको सरकारले जनाएको छ । कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणलाई लक्षित गरी प्रदेश सरकारले विपद् कोष स्थापना गरेको थियो ।

कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा २७ करोड १९ लाख ३५ हजार ६९ रूपैयाँ जम्मा भएको थियो । निजी क्षेत्रबाट उक्त कोषमा दुई करोड २४ लाख ३५ हजार पाँच सय ७९ रूपैयाँ सहयोग भएको थियो । अरु रकम प्रदेश सरकार आफैले जम्मा गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव विनोदकुमार गौतमका अनुसार हाल कोषमा एक करोड ५१ लाख ५२ हजार एक सय रूपैयाँ बाँकी छ । प्रदेश सरकारले आवश्यकता अनुसार रकम जम्मा गर्ने गरी सुरुमा ५० करोडको विपद् कोष स्थापनाको घोषणा गरेको थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा रहेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रदेश सरकारले १० वटै जिल्ला विपद् व्यवस्थापन समितिलाई ५०÷५० लाखका दरले पाँच करोड र ७९ स्थानीय तहलाई १३ करोड रूपैयाँ उपलब्ध गराएको छ । उक्त रकम प्रत्येक स्थानीय तहलाई १५ देखि ३० लाख रूपैयाँका दरले वितरण गरिएको हो । प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिलाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाखका दरले रकम दिइएको थियो । स्थानीय तहलाई दिइएको रकम नागरिकहरूको उद्धार, क्वारेन्टाइन व्यवस्थापन लगायतमा खर्च भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले कोरोना नियन्त्रणमा संघीय सरकारबाट प्रदेश सरकारलाई नगद रकम नभइ केही स्वास्थ्य सामग्रीहरू मात्रै सहयोग प्राप्त भएको बताए ।

यस्तै प्रदेश सरकारले विपद् कोषबाटै नेपाली सेनालाई दुई करोड पाँच लाख दिएको छ । उक्त रकम क्वारेन्टाइन व्यवस्थापनका लागि सेनालाई दिइएको हो । सुर्खेतकोे वीरेन्द्रनगरस्थित खुलामञ्चमा बनाइएको क्वारेन्टाइनको व्यवस्थापन सेनाले हेर्दै आएको छ ।

भारतबाट आएका नागरिकको उद्धार गर्दा र क्वारेन्टाइनमा रहेकालाई घरसम्म पु¥याउन कोषबाट यातायातमा मात्रै अहिलेसम्म ४२ लाख ८३ हजार चार सय २८ रूपैयाँ खर्च भएको छ । यातायात खर्च व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १० लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३२ लाख ८३ हजार चार सय २८ रूपैयाँ उपलब्ध गराइएको छ । कोषको रकम सबैभन्दा बढी खर्च सामाजिक विकास मन्त्रालयले गरेको छ । क्वारेन्टाइन, आइसोलेसनलगायत स्वास्थ्य पूर्वाधार तयार र उपचारका लागि मन्त्रालयलाई चार करोड २५ लाख उपलब्ध गराइएको हो । मन्त्रालयमार्फत प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सामुदायिक अस्पताल चौरजहारी रुकुम–पश्चिम र केही जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको छ ।

यस्तै विपद् कोषबाट सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री खरिदमा १५ लाख रूपैयाँ खर्च गरिएको छ । प्रदेश सरकारले सुरक्षा सामग्री खरिदका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख र सशस्त्र प्रहरीलाई पाँच लाख रूपैयाँ उपलब्ध गराएको छ ।

संघीय सरकारले कोरोना रोकथाममा खर्च भएको रकम केही दिन पहिले सार्वजनिक गरेको थियो । प्रदेश सरकारतर्फबाट भनि सार्वजनिक गरिएको उक्त रकम प्रदेश विपद् कोषबाटै खर्च भएको हो । संघीय सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा करिब आठ अर्ब ३९ करोड रूपैयाँ खर्च गरेको जनाएको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार ०६:००