भारतबाट ४१ हजार नागरिक फर्किए

भारतबाट कर्णालीका ४१ हजार बढी नागरिक फर्किएका छन् । रोजगारीको शिलशिलामा भारत गएका कर्णालीवासी लकडाउनयता मात्रै यति ठूलो संख्यामा प्रदेश भित्रिएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार यसरी भारतबाट फर्कनेमा सबैभन्दा बढी दैलेखका छन् । दैलेखका करिब १४ हजार नागरिक भारतबाट फर्किएका हुन् । दोस्रोमा सुर्खेतका ११ हजार दुई सय ४२ नागरिक फर्किएका छन् ।

त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार पाँच २१, सल्यानका तीन हजार पाँच सय १८, रुकुम–पश्चिमका एक हजार चार सय ४७, मुगुका एक हजार तीन सय ५०, जुम्लाका एक हजार दुई सय ५७ र हुम्लाका दुई सय ७५ नागरिकहरू कर्णाली प्रवेश गरेका हुन् । यो तथ्याङ्क जेठ २९ गतेसम्मको हो । त्यसयता पनि दैनिक सैयौंको संख्यामा नागरिक भित्रिने क्रम जारी छ । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संंख्या शून्य रहेको छ ।

मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायका अनुसार वैशाख महिनासम्म दुई हजार चार सय नागरिकहरू बबई नाकाबाट कर्णाली भित्रिएका थिए । जेठ ६ गतेदेखि दैनिक हजारौं मान्छे आउने क्रम निर्बाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार सात सय १२ नागरिकहरू कर्णाली प्रवेश गरेका छन् । शनिवारसम्म भारतबाट आउनेको संख्या ४१ हजार नाघिसकेको जनाइएको छ ।

भारतबाट आएका ४१ हजार नागरिकहरूमध्ये अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुषगरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टाइनमा छन् । एक साता अघि दैनिक चार हजारको संख्यामा आउने नागरिक अहिले दैनिक एक हजार हजारमा झरे पनि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५ देखि २० हजार नागरिक भित्रिने अनुमान गरेको थियो । अनुमानभन्दा शतप्रतिशत बढी नागरिक भित्रिएपछि प्रदेश सरकार र स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ । भारतबाट फर्कने नागरिकको चापसँगै कोरोना संक्रमण पनि तीव्ररूपले देखिन थालेको छ ।

प्रकाशित मितिः   ३२ जेष्ठ २०७७, आईतवार १५:४८