बेरोजगारलाई गाउँपालिकाद्वारा रोजगारी

जुम्लाको हिमा गाउँपालिकाले तीन सय ३९ जनालाई २० दिने रोजगारी दिएको छ । पालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूलाई काम दिएको हो । हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा लकडाउनका कारण रोजगारी गुमाएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका मध्येबाट प्राथमिकताका आधारमा काम दिइएको हो ।

उनीहरूलाई गाउँपालिकाका–४ स्थित हिमा आवासीय विद्यालयको भवन निर्माण र घेरवार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कामदारलाई सामाजिक दूरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामग्रीको प्रयोगका साथ काममा लगाइएको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा गाउँपालिकालाई ६४ लाख बजेट मुख्यमन्त्री रोजगार कार्यक्रमबाट उपलब्ध गराइएको छ ।

लकडाउनमा घरपरिवार पाल्न मुस्किल परेको बेला रोजगारी पाउँदा राहत महसुस भएको स्थानीय अमृत शाहीले बताए । रोजगार कार्यक्रमका कामदारलाई दैनिक ६ सय ६० रूपैयाँ ज्याला प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिए । यस वर्ष बेरोजगार व्यक्तिलाई समावेश गरी रोजगार उपभोक्ता समिति गठन गरिएको छ । निर्माण कार्य र खरिद प्रक्रियासमेतको जिम्मा उपभोक्ता समितिलाई नै दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७७, शुक्रबार ०६:०६