व्यवसायी आन्दोलित

निजी क्षेत्र धरापमा पर्दैगएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि विशेष राहत प्याकेज घोषणालगायत माग गर्दै बुधवार शान्तिपूर्ण विरोध जुलुस निकालेको हो ।

व्यवसायीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सात बुँदे मागपत्र पेश गरेका छन् । लकडाउनको समयमा ठप्प रहेका उद्योग–व्यवसायलाई सरकारले विशेष आर्थिक अनुदान दिनुपर्ने व्यवसायीको माग छ । लकडाउन अवधिसम्म काम गरिरहेका श्रमिक र कर्मचारीको तलब भुक्तानीका लागि ५० प्रतिशत आर्थिक सहयोग गर्न माग गरिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए । उनले लकडाउन अवधिभर बैंक ब्याज, घरभाडा, राजस्व, महशुल र शुल्क निश्चित अवधिका लागि मिनाहा गर्न सरकारसँग आग्रह गरिएको जनाए ।

संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन गरी राहत एवम् सहयोगको प्याकेज निर्धारण गर्न निजी क्षेत्रको समेतको प्रतिनिधित्वमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने, बन्दाबन्दीमा ठप्प रहेका उद्योग, व्यवसायहरूलाई सरकारले आर्थिक अनुदानका साथै यस अवधिसम्मको श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागि पचास प्रतिशत आर्थिक सहयोग गर्नुपर्ने, सरकारी अनुदान वा सहयोग दिंदा सर्वाधिक प्रभावित उद्योग, व्यापार, कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रगत उद्योगी, व्यापारीको पहिचान गरी प्राथमिकता दिनुपर्ने, सबैखाले उद्योग व्यवसायलाई बन्दाबन्दी अवधिभरको बैंक ब्याज पूर्णरूपमा मिनाहा गरी बन्दाबन्दी पूर्णरूपमा खुलेको ६ महिनापछि मात्र आयकर तथा बैंक किस्ता बुझाउने व्यवस्था मिलाउनुपर्ने लगायतका माग गरेको छ ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७७, बिहीबार ०६:०६