कर्णालीमा बढ्दो कोरोना ग्राफ

तीन सातामा सात सय संक्रमित

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पहिलो संक्रमण पुष्टि भएको तीन साता नबित्दै संक्रमितको संख्या सात सय नाघेको छ । बुधवारसम्म प्रदेशमा सात सय आठ जना संक्रमित भेटिएका हुन् ।

सीमित परीक्षण हुँदा पनि संक्रमितको संख्या अत्याधिक देखिएको हो । कर्णालीमा बुधवारसम्म आरटी–पीसीआर विधिबाट १२ हजार ५३ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये सात सय आठ जनामा संक्रमण पुष्टि भएको हो । जबकी प्रदेशमा जेठ यता मात्रै २५ हजार बढी नागरिक भारतबाट भित्रिएका छन् ।

पीसीआर परीक्षणको दायरा साँघुरो र सुस्त भएको भन्दै प्रदेश सरकारको आलोचना समेत हुने गरेको छ । प्रदेशमा अहिले दुई वटा पीसीआर मेसिनमार्फत मात्रै कोरोना परीक्षण हुने गरेको छ । संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति भारतबाट फर्किएर क्वारेन्टाइन बसेकाहरू हुन् । केही अन्य व्यक्तिहरूमा पनि कोरोना पुष्टि भए पनि समुदायस्तरमा संक्रमण नफैलिएको सरकारी अधिकारीहरूले दावी गर्दै आएका छन् । प्रदेशमा पहिलो पटक जेठ ५ गते दैलेखको आठबीसका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको पाँच दिनपछि जेठ १० गते अरु तीन जनामा संक्रमण भेटिएको हो ।

त्यसयता दैनिकजसो ठूलो संख्यामा संक्रमित बढेका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार जेठ १२ गते सात र १३ गते १२ जनामा संक्रमण पुष्टि भएको थियो । यो अवधिमा जेठ २२ गते अहिलेसम्मकै धेरै संक्रमित भेटिएका थिए । उक्त दिन एक सय १४ जनामा संक्रमण देखिएको हो । जेठ १४ गते १५ जना, १५ गते आठ जना, १७ गते ५९ जना, १८ गते १८ जना, १९ गते एक सय सात जनामा संक्रमण देखिएको थियो ।

यसैगरी जेठ २० गते २९ जनामा, २१ गते १६ जनामा र २३ गते सय जनामा कोरोना संक्रमण भेटिएको हो । त्यसयता २४, २५, २६, २७, २८ गते क्रमशः ९८, ५४, १०, २० र ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरूमा दैनिकजसो संक्रमित भेटिएका छन् ।

प्रदेशको कोरोना संक्रमितको तथ्याङ्क हेर्दा हालसम्म दैलेखमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने प्रदेशमा एक मात्र जिल्ला रुकुम–पश्चिममा संक्रमण देखिएको छैन । बुधवारसम्म दैलेखमा तीन सय ८६, सुर्खेतमा एक सय ६, सल्यानमा एक सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्लामा एक र डोल्पामा एक जना कोरोना संक्रमित भेटिएका छन् । यसबाहेक प्रदेशबाहिरका बझाङ, बाजुरा दोलखा, रामेछाप र गोरखाका एक–एक जना र अछामका १० जनामा पनि कर्णाली प्रदेशमै गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत, दैलेख र डोल्पाका एक÷एक जना हुन् । उनीहरूमा मृत्युपछि मात्रै कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । प्रदेशमा हालसम्म २९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

अस्पताललाई झुक्याएपछि…

बराहताल गाउँपालिका–४ तरंगास्थित भेरी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५० वर्षीय पुरुषलाई जेठ २६ गते राती सर्पले डस्यो । उनलाई नजिकै रहेको तरंगा स्वास्थ्य चौकीबाट दुई जना स्वास्थ्यकर्मी राती नै क्वारेन्टाइन पुगेर प्राथमिक उपचार गरे । २७ गते बिहान उपचारका लागि बराहताल गाउँपालिकाको एम्बुलेन्समा कर्णाली प्रदेश अस्पतालमा ल्याइयो ।

आकस्मिक कक्षमा भर्ना गरियो । सर्पले डसेको बिरामी भनेपछि स्वास्थ्यकर्मीहरू तत्काल उपचारमा खटिए । जब उपचार सुरु भयो अनि मात्रै स्वास्थ्यकर्मीलाई जानकारी भयो कि उनी क्वारन्टाइनबाट आएका रहेछन् । उनको तत्काल स्वाब निकाली कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आयो । उनमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भयो । उनी जेठ १७ गते भारतबाट फर्किएर क्वारेन्टाइन बसेका थिए ।

उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा खैलाबैला मच्चियो । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू त्रसित भए । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सर्पले डसेर आएका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू हाल क्वारेन्टाइनमा रहेको बताए ।

खड्काका अनुसार उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको स्वाब परीक्षण गरिँदै छ । डा. खड्काले क्वारेन्टाइनबाट आएको बिरामी भनेपछि उपचार गर्दिनन् भनेर ढाँट्दा समस्या भएको बताए । उनी भन्छन्, ‘यसरी सूचना लुकाउँदा भोलिका दिनमा अन्य बिरामीले समेत आकस्मिक उपचार नपाउने स्थिति आउन सक्छ ।’ सूचना लुकाइँदा स्वास्थ्यकर्मी सबै क्वारेन्टाइन बस्नुपर्ने बाध्यता आउने उनको भनाइ छ । खड्काका अनुसार उपचारमा खटिएका ६ जना स्वास्थ्यकर्मीले भने पीपीई लगाएका थिए ।

ती पुरुषको आँखामा समस्या भएका कारण उनीसँगै क्वारेन्टाइनमा बस्दै आएकाहरूले शौचालय जान लगायतमा सहयोग गर्दै आएका थिए । क्वारेन्टाइनमा उनीसँगै अरु ३२ जना बस्दै आएका थिए । उनमा कोरोना देखिएपछि क्वारेन्टाइनमा रहेका र उनलाई अस्पताल ल्याउने एम्बुलेन्सका चालकको पनि कोरोना परीक्षण गरिने भएको छ । भर्ना गरिएका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमरजेन्सी सेवा बन्द गर्नु परेको प्रदेश अस्पतालले जनाएको छ । निर्देशक डा. खड्काका अनुसार ती संक्रमित व्यक्तिमा कोरोना भाइरसको कुनै पनि लक्षण भने देखिएको छैन ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७७, बिहीबार ०६:०७