जनशक्ति र पूर्वाधार बढाउन निर्देशन

कर्णाली प्रदेशका कोरोना संक्रमित जिल्लाहरूमा जनशक्ति र स्वास्थ्य पूर्वाधारको अभाव हुन थालेपछि विधायन तथा प्रदेश मामिला समितिले उचित व्यवस्थापनका लागि प्रदेश सरकारलाई निर्देशन दिएको छ । कोरोना संक्रमित बढी देखिएको दैलेख, सुर्खेत र सल्यानलगायतका जिल्लामा संक्रमित अनुसार डाक्टरसहित स्वास्थ्यकर्मी पठाउन र अन्य पूर्वाधारहरू तयार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिका अध्यक्ष पदमबहादुर रोकायले स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव र स्वास्थ्य पूर्वाधारको कमी भएको औल्याउँदै त्यसका लागि उचित व्यवस्थापन गर्न निर्देशन गरिएको बताए । उनले संक्रमितको आधारमा कति डाक्टर आवश्यक पर्छन् सोही अनुसार खटाउन भनिएको बताए । उनका अनुसार समितिले परीक्षणको दायरा बढाउन, परीक्षण तीव्र बनाउन र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमवारको बैठकमा सामाजिक विकास मन्त्री दल रावल पनि उपस्थित थिए । रावलले अहिलेसम्म कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा भइरहेका विषयमा बैठकलाई जानकारी गराएका थिए । उनले कोरोना संंक्रमित बढी भएको ठाउँमा आइसोलेसन बनाउने, चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था तथा परीक्षणको गति र दायरा बढाउन दुई वटा पीसीआर मेसिन थप्ने तयारी गरिएको विधायन समितिलाई जानकारी दिएका छन् ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७७, मंगलवार ०६:०३