रगतको माग बढ्यो

सुर्खेतमा पहिलेको तुलनामा रगतको माग बढेको छ । नेपाल रेडक्रस शाखा सुर्खेतका अनुसार पहिलेको तुलनामा भन्दा लकडाउनको समयमा रगत बढी खपत भएको हो । शाखाका सभापति रामलाल आचार्यले लकडाउन भएयता रगतको माग बढी भएको बताए । लकडाउन अघिसम्म सुर्खेतमा मासिक ८० देखि ९० पिन्टसम्म रगत खपत हुन्थ्यो । अहिले मासिक एक सय ३० पिन्टसम्म खपत हुने गरेको छ । यद्यपि रगतको अभाव भने नभएको आचार्यले बताए ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ७५ दिन पुगिसकेको छ । यस अवधिमा बाहिर लैजानुपर्ने बिरामीहरूको समेत अहिले सुर्खेतमै उपचार हुने गरेको छ । जसका कारण रगतको माग पनि बढी भएको हो । ‘रगतको माग बढी भए पनि अभाव हुन दिएका छैनौं,’ उनले भने ।

दीर्घ रोगी र तत्तकाल अप्रेशन गर्नुपर्ने बिरामीहरूका लागि रगत आवश्यक हुन्छ । सुर्खेतमा रेडक्रसका स्वयम्सेवक, जेसीज, लायन्स क्लबलगायतका विभिन्न सामाजिक संघ–संस्था र व्यक्तिहरूबाट रगत संकलन गर्ने गरिएको छ । ‘अहिले रगत नपाएर बिरामीलाई उपचारमा समस्या हुने अवस्था छैन,’ उनले भने, ‘रेडक्रसले सुर्खेतमा ब्लड बैंक नै सञ्चालन गरिरहेको छ ।’ लकडाउनका समयमा रगतको कमी हुन नदिन बेला–बेलामा सामाजिक दूरी कायम गरेर रक्तदान कार्यक्रममार्फत ब्लड संकलन गर्ने गरिएको रेडक्रस शाखा सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७७, सोमबार ०६:०५