स्वाबको चाप, परीक्षणमा ढिलाइ

प्रयोगशालालाई भार थेग्नै मुस्किल

  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गरिँदै ।

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) को पहिलो संक्रमित भेटिएको २० दिन पुगेको छ । यो अवधिमा कूल संक्रमित ६ सय ४१ पुगेका छन् । कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ भने संक्रमितमध्ये सात जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतवार मात्रै ५४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन (शनिवार) ९८ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक दर्जनौं नयाँ संक्रमित थपिँदै गएपछि एकातिर उनीहरूको उपचारमा चुनौती देखिएको छ भने अर्कोतिर दुई साताभन्दा बढी समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेकाहरू धमाधम घर जान थालेका छन् । कर्णालीका दश जिल्लाको परीक्षण भार सुर्खेत र जुम्लास्थित प्रयोगशालाले थेग्न नसकेपछि परीक्षणमा ढिलाइ भएको हो ।

संक्रमितलाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ । कतिपय जिल्लामा आइसोलेसनभन्दा संक्रमितको संख्या धेरै भइसकेको छ । जसका कारण उपचारमा समेत समस्या आएको छ । परीक्षण सुस्त हुँदा प्रयोगशालामा विभिन्न जिल्लाबाट पठाइएका नमूना स्वाब थन्किएका छन् । रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइन बसिरहेकाहरू त्यतिकै घर फर्कन थालेका हुन् । यसरी पीसीआर रिपोर्ट नआउँदै घर पठाउन थालिएपछि समुदायमा संक्रमण फैलने खतरा पनि बढेको छ ।

रिपोर्ट आउन ढिलाइ हुँदा घर पुगिसकेपछि संक्रमण पुष्टि हुने गरेको छ । दैलेखमा क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर रिपोर्ट नआउँदै आरडीटी परीक्षणमा नेगेटिभ देखिएकै भरमा गएको बुधवार घर पठाइयो । तर, दुई दिन पछि शुक्रवार पीसीआर रिपोर्ट आयो । जसमध्ये एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये केही सम्पर्कमा आए पनि अझै ८७ जना संक्रमित घरमै बसेका छन् । उनीहरू अस्पतालको सम्पर्कमा आएका छैनन् ।

दुई हप्तासम्म रिपोर्ट कुुर्नुपर्ने भएपछि क्वारेन्टाइनमा रहेकाहरूको व्यवस्थापनमा समस्या आएको स्थानीय तहहरूले बताउने गरेका छन् । पीसीआर परीक्षण रिपोर्ट आउन ढिला भएपछि स्थानीय तहले आरडीटी गरेर घर पठाउन थालेका हुन् । कोरोना परीक्षणका लागि आरडीटी रिपोर्ट भरपर्दो मानिंदैन । चिकित्सकहरूका अनुसार कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न पीसीआर परीक्षण नै गर्नुपर्ने हुन्छ । सुर्खेत र डोल्पाका एक–एक जनामा आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएकै भरमा घर पठाइँदा मृत्यु भएको थियो । उनीहरूमा मृत्युपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

दैलेखको दुल्लू नगरपालिकाले जेठ १५ गते एक सय १६ जनाको स्वाब परीक्षण गर्न सुर्खेत पठाएको छ । नगर प्रमुख घनश्याम भण्डारीले तीमध्ये ४५ जनाको रिपोर्ट आउँन बाँकी रहेको बताए । ‘स्वाब संकलन गरेर पठाएको १०–११ दिन बित्यो । सबैको रिपोर्ट आएको छैन । अन्य केहीको पनि पीसीआर परीक्षण गर्नुपर्ने छ,’ उनले भने, ‘भारतबाट आउने मानिसहरू दिन प्रतिदिन थपिँदै छन् । संक्रमितको संख्या पनि बढ्दै छ । रिपोर्ट ढिला आउँदा व्यवस्थापनमा कठिनाइ भएको छ ।’

यस्तै दैलेखकै डुङ्गेश्वर गाउँपालिकाले पनि चार सय ८५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि जेठ १९ गते सुर्खेत पठाइए पनि रिपोर्ट नआएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले रिपोर्ट नआउँदा १४ दिन पुगेकालाई पनि घर पठाउन नसकिएको बताए । परीक्षण रिपोर्ट ढिलाइ भएपछि नागरिकहरूले आफूहरूलाई आक्रोश पोख्ने गरेको उनको भनाइ छ ।
जुम्लाको त्रिवेणी गाउँपालिकाका पनि ६५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको एक साता पुगेको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका अनुसार सुर्खेत र जुम्लामा ढिला हुने भनेपछि स्वाब परीक्षणको लागि प्रदेश नं. ५ को दाङ पठाएको छ । उनी भन्छन्,
‘क्वारेन्टाइनमा थेगि नसक्नु भीड छ । रिपोर्ट ढिला आउँदा जोखिम र आर्थिक भार उत्तिकै थपिएको छ ।’
प्रदेश सरकारले भने क्षमताभन्दा बढी स्वाब संकलन हुन थालेपछि परीक्षणमा ढिलाइ भएको जनाएको छ । हाल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको परीक्षण गर्ने गरिएको छ । सुर्खेतमा मात्रै आइतवार साँझसम्म एक हजार पाँच सयको पीसीआर परीक्षण गर्न बाँकी छ । प्रयोगशालाका अनुसार दैनिक १८ घण्टा काम गर्दा तीन सयसम्म स्वाबको नमूना परीक्षण गर्न सकिन्छ । जुम्लामा पनि एक हजारको हाराहारी स्वाबको परीक्षण गर्न बाँकी छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले स्थानीय तहमा क्षमता भन्दा बढी स्वाब संकलन हुन थालेपछि परीक्षणमा ढिलाइ भएको बताए ।
जाजरकोटबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएका सात सय ४८ जनामध्ये चार सय ४८ जनाको रिपोर्ट आएको छैन । दश दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेपछि क्वारेन्टाइनमा अन्योल देखिएको त्यहाँस्थित स्थानीय तहहरूले जनाएका छन् ।

परीक्षणका लागि स्वाबको चाङ लाग्न थालेपछि सामाजिक विकास मन्त्रालयले प्राथमिकताको आधारमा स्वाब संकलन गर्न जिल्लाहरूमा पत्राचार गरेको छ । अब प्रदेशमा दुई वटा पीसीआर मेसिन थप्ने मन्त्रालयको तयारी छ । मेसिन थप्दा दिनमा एक हजारसम्म स्वाब परीक्षण गर्न सकिने मन्त्रालयको ठहर छ । प्रदेशमा हालसम्म २१ हजार चार सय जनाको आरडीटी र दश हजार एक सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७७, सोमबार ०६:०६