चिनियाँ विश्वविद्यालयसँग एमयूको सहकार्य

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चीनको सीजीआजुङ टाईडाओ विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । दुई विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता गरिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र सीजीआजुङ टाईडाओ विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. फेंङ वेन्चीले द्विपक्षीय सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत दुवै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवम् सहकार्य हुने जनाइएको छ ।

यो सम्झौता पश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् भने स्नातकोत्तर र विद्यावारिधी अध्ययनका लागि विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाइका लागि प्राध्यापक समेत आदान–प्रदान हुने विश्वविद्यालयका उप–प्राध्यापक पञ्चदेव भट्टले जानकारी दिए । सम्झौतामा विश्वविद्यालय अन्तर्गतका फ्याकेल्टी तथा दोहोरो शैक्षिक सम्बन्ध विकास रहने कुरा उल्लेख गरिएको उनले जानकारी दिए । सम्झौता हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ भने त्यसपश्चात यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्रावधान रहेको छ । सीजीआजुङ टाईडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिङ्गसँग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७७, सोमबार ०६:०२