‘कोरोनासँग सरकार एक्लै लड्न सक्दैन’
कर्णाली प्रदेश सरकारले कोरोेना रोकथाम र नियन्त्रणमा सबैलाई हातेमालो गर्न आग्रह गरेको छ । प्रदेशमा दिन प्रतिदिन संक्रमितहरूको संख्या बढ्दै गएको र संक्रमण अझै फैलने सक्ने भन्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्ध लड्न नसकिने बताइएको हो ।
बिहीवार प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यो संकटबाट पार पाउन सबैले सरकारसँग हातेमालो गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको एकल प्रयासले मात्रै कोरोना पराजित गर्न सम्भव छैन,’ उनले भने, ‘कोरोना भुसमा आगो फैलिएको जसरी फैलिनेमा दुईमत छैन । त्यसले नागरिक–सरकार सहकार्य जरुरी छ ।’ मन्त्री भण्डारीले कोरोना संक्रमण हुन्छ भनेर बाहिरबाट आएका नागरिकलाई समेत राम्रो व्यवहार नभएको पाइएको बताए । उनले यो बेला आरोप प्रत्यारोप लगाउनु भन्दा एकता हुनु आवश्यक रहेको औल्याए ।
प्रदेशमा स्वास्थ्य पूर्वाधार कम भएका कारण पनि सरकारले आलोचना खेप्नु परेको उनले बताए । मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न नसकिएको मन्त्री भण्डारी स्वीकार गरे । प्रदेश सरकार र स्थानीय तहहरूलाई आर्थिक भार थेग्न समस्या भएकाले व्यवस्थापनमा संघीय सरकारको पनि अभिकतम सहयोग आवश्यक रहेको उनको कथन थियो । लकडाउनयता भारतबाट ३२ हजार ४० जना प्रदेश फर्किए र ८६ हजार नौं सय ९१ जना फर्किने सरकारको आँकलन रहेको उनले प्रदेशसभामा जानकारी गराए ।
यस्तै, मन्त्री भण्डारीले तीन हजार नौ सयलाई प्रदेश सरकारको खर्चमा उद्धार गरिएको बताए । प्रदेश विपद् कोषमा २७ करोड १९ लाख ३५ हजार पाँच सय ६९ मध्ये दुई करोड २४ लाख ३५ हजार पाँचसय ६९ रूपैयाँ विभिन्न संघ–संस्था, बैंक र व्यक्तिहरूबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए । हालसम्म कोरोना प्रतिकार्यमा कोषबाट २३ करोड ५५ लाख खर्च भएको उनले जानकारी दिए । उक्त रकम जिल्ला विपद् कोष, स्थानीय तह, नेपाली सेना, प्रहरी, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ ।
प्रकाशित मितिः २३ जेष्ठ २०७७, शुक्रबार ०६:३१
साझा बिसौनी ।