प्रदेश सरकार निन्द्रामा झुलिरहेको छ : नेता शाही

सुर्खेत : नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार निन्द्रामा झुलिरहेको आरोप लगाएका छन् । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन लाग्दा समेत सरकार सुतिरहेको टिप्पणी गरेका हुन् ।

‘अवस्था भयावह आइरहेको छ, सरकार भने निन्द्रामा झुलिरहेको जस्तो देखिन्छ’ उनले भने ।

कोरोना प्रतिकार्यमा पर्याप्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिमतर्फ धकेलिएको उनको भनाई थियो । ‘सरकारलाई पर्याप्त समय थियो । हामीले पनि पटक पटक सुझाव दिएका हौंँ । तर सरकारले चासो देखाएन’ शाहीले भने, ‘बरु प्रदेशलाई कोरोनामुक्त बनाउँछु भन्दै भाषणबाजीमा व्यस्त रह्यो ।’

आवश्यक क्वारेन्टाइन र आइसोलेसन बनाउने, किट व्यवस्थापन गर्ने र परीक्षण गर्नतिर लाग्नुपर्नेमा सरकार त्यसतर्फ गन्भिर नभएको आरोप लगाए ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७७, आईतवार १५:४८