लकडाउनमा मार्सी रोप्ने चटारो

जुम्लामा कालीमार्सी धानको रोपाईं सुरु भएको छ । जुम्लाको गुठीचौर, चन्दननाथ, तातोपानी र सिंजा क्षेत्रमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाईं गर्न थालिएको हो । कोरोना संक्रमण त्रासकाबीच यहाँका किसानले दूरी कायम गर्दै रोपाईं सुरु गरेका हुन् ।

किसानलाई यतिबेला मार्सी धान रोप्न भ्याइ–नभ्याइ छ । रोपाईंको समयमा कृषकहरूले गर्ने रमाइलोका कारण जिउलोमा रौनकता छाएको चन्दननाथ–४ कि रन्नकली सुनारले बताइन् । ‘कोरोना भाइरस संक्रमण हुने डरले सबै रोपार र हलीहरूले सावधानी अपनाएका छन्,’ उनले भनिन्, ‘सबैको मुखमा मास्क हुन्छ । दूरी कायम गरेरै काम गरिरहेका छन् ।’

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि कृषकमा मार्सी रोप्ने आकर्षण बढेको छ । ‘जुम्लामा उत्पादन हुने मार्सी चामलको स्वाद निकै मीठो हुने भएकोले अहिले यसको माग बढिरहेको चन्दननाथ–४ कै निर्मला सुनारले बताइन् । चैत महिनामा बीउ राखी जेठमा रोपिने मार्सी असार, साउन महिनामा गोडमेल गरी कार्तिकमा भित्र्याइन्छ ।

जुम्लामा कूल दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा काली मार्सी धानको खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी दिए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार ०६:५५