प्रदेशको नीति तथा कार्यक्रम भोलि

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम जेठ १६ गते संसद्मा प्रस्तुत गर्न लागेको हो ।

सरकारले आगामी असार १ गते करिब ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनकाअनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पाननमा केन्द्रित गरिने छ । अघिल्लो वर्ष जस्तो धेरै स्रोत समेत नभएकाले यो वर्ष सरकारले घटेर बजेट ल्याउन लागेको हो ।

यसैबीच, प्रदेश सभाका सदस्यहरूले कोरोना संक्रमणबाट जनतालाई बचाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार छैठौं अधिवेशनको चौथों बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरूले कर्णालीमा कोरोना जोखिम उच्च रहेको भन्दै अन्य काम छोडेर सरकारलाई जनता बचाउन आग्रह गरेका हुन् । संसद्को विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीले सरकार र निजी क्षेत्रको समन्वय नहँुदा भारतबाट आउने नागरिकहरूको राम्रो व्यवस्थापन गर्न नसकिएको बताए । ‘प्रदेशका सांसदहरूको जिम्मेवारी के हो ?’, खत्रीले भने ‘भित्रभित्रै निर्माणको काम र बिल मिलाउने काम मात्रै भइरहेको छ । पहिले मान्छे बचाऔं, त्यसपछि राजनीति गरौंला ।’ उनले भारतबाट आफ्ना नागरिक कति आए, उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेसम्मको सरकारको तयारी नरहेको बताए ।

प्रदेशसभा सदस्य पद्मा खड्काले नागरिकहरू राजधानीको बाटो हुँदै जिल्ला छिर्ने भएकोले संक्रमणको त्रास गाउँमा देखिएको बताइन् । बैठकले बुधवार प्रि–बजेट पास गरेको छ । प्रि–बजेटको सम्बन्धमा सदस्यहरूले बैठकमा उठाएका प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जवाफ दिएका थिए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार ०६:५४