मुख्यमन्त्रीकोे सुरक्षामा खटिएका प्रहरी फिर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका छन् । जिल्ला प्रहरी कार्यालयका लागि भनेर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार आठ जना प्रहरी मुख्यमन्त्रीले फिर्ता पठाएका छन् । दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र पाँच जना जवानलाई मुख्यमन्त्रीले फिर्ता पठाएका हुन् । फिर्ता पठाएका प्रहरी शनिवारदेखि जिल्ला प्रहरी कार्यालयमार्फत् ड्युटीमा खटिएका छन् । मुख्यमन्त्रीको सुरक्षार्थ व्यवस्था गरेको अगुवा गाडी पनि फिर्ता गरिएको प्रहरीले जनाएको छ ।