७० लाखको स्वास्थ्य सामग्री सहयोग

पूर्वसभासद् एवम् नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले सुर्खेतस्थित प्रदेश अस्पताललाई ७० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कुमारी ट्रष्टका तर्फबाट अध्यक्ष शाहले शुक्रवार प्रदेश अस्पतालका अस्पताल प्रमुख डा. डम्बर खड्कालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई पाँच वटा आईसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरलगायतका अत्यावश्यकीय सामग्रीहरू प्रदान गरिएको हो । शाहले यसअघि अन्य नौ वटा अस्पतालका लागि पनि करिब ३० लाख बराबरको सामग्री सहयोग गरेको जनाएका छन् ।

अमेरिकामा बस्ने माया राणाले आफ्ना स्वर्गीय बुवाको प्रथम वार्षिकीको अवसरमा ट्रष्टलाई गरेको आर्थिक सहयोगबाट कर्णालीका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए । ‘कोरोनाको संक्रमणविरुद्ध लड्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो,’ उनले भने, ‘त्यसमाथि कर्णालीजस्तो भौगोलिक विकटता र स्वास्थ्य पूर्वाधार कमजोर भएको ठाउँमा यस्तो बेला सहयोगको खाँचो अझ बढी महसुस भएकोले सहयोग गरेका हौं ।’

यो सहयोगसँगै प्रदेश अस्पतालमा आईसीयू बेड संख्या २५ पुगेको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार कोरोना प्रकोपअघि ४ वटा आईसीयू बेड रहेकोमा सरकारको सहयोगमा १६ र कुमारी ट्रष्टको सहयोगमा ५ बेड थपिएको छ । अब प्रदेशभर आईसीयू संख्या ४० पुगेको छ । जुम्लामा १० र दैलेखमा ५ आईसीयू बेड रहेका छन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा ३ वटा आईसीयू बेड रहेकोमा कोरोना प्रकोपलाई मध्यनजर गरेर ७ वटा थप गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशभर भेन्टिलेटरको संख्या १७ रहेको छ । सुर्खेतमा कुमारीको सहयोगमा आएको एकसहित ८, जुम्लामा ७ र दैलेखमा २ वटा भेन्टिलेटर रहेका छन् ।

प्रदेश अस्पतालका प्रमुख मेसु डा. खड्काले शाहले सहयोग गरेका समाग्री कोरोना संक्रमित बिरामीहरूको उपचारमा सहयोग पुग्ने बताए । उनले अस्पतालमा २५ वटा आईसीयु राख्ने लक्ष्यका साथ अघि बढेको जानकारी दिए । सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगप्रति धन्यावाद व्यक्त गर्दै यो सहयोगले कोरोना रोकथाम र उपचारमा सहयोग पुग्ने बताए । उनले कर्णालीमा कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले उच्च सर्तकता अपनाएर काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार ०८:२०