जीवनबोध

चालिस हजार इनाम

दिपबहादुर बडुवाल(दिपक)

जीवनबोध


हरिबहादुर एक अवकाशप्राप्त प्रोफेसर (शिक्षक) हुन् । बिहान दश बजेसम्म उनी एकदम स्वस्थ देखिन्थे । बेलुका सात बज्दाबज्दै उच्च ज्वरोको साथ, ती सबै लक्षणहरू देखिन थाले जुन कोरोना सकारात्मक बिरामी भित्र देखिन्छन् ।

परिवारका सदस्यहरूको अनुहारमा डर प्रष्ट देखिन्थ्यो । उनको खाट घरको पूरानो ठूलो बाहिरी कोठामा राखि दिए, जसमा उनको घरपालुवा कुकुर ‘मार्शल’ बस्ने गर्छ ।

हरिबहादुरले केहि वर्ष पहिले सडकबाट एक सानो घाइते कुकुरलाई उठाएका थिए र यसलाई आफ्नो बच्चाहरूको जस्तो हुर्काए । उनैले ‘मार्शल’ नाम दिएका थिए । यो कोठामा अब हरिबहादुर, उनको खाट र प्यारो मार्शल मात्र छन् । दुवै छोरा र बुहारीहरूले दूरी बनाए र बच्चाहरूलाई त्यहाँ नजाने निर्देशन दिइसकेका थिए । साथमा उनलाई कोरोना संक्रमण भएको जानकारी सरकारले जारी गरेको नम्बरमा फोन गरेर दिइसकिएको थियो ।

यो खबर इलाकामा फैलिएको थियो तर कोही पनि भेट्न आएनन् । साडीको किनारालाई मुखमा बेरेर एउटी छिमेकी बूढी महिला त्यहाँ आइन् र हरिबहादुरकी श्रीमतीलाई भनिन्, ‘अरे बाबा, कसैले खानेकुरा त राखी देऊ उहाँलाई ! नत्र भने ती अस्पतालबाट आउनेहरूले यहाँलाई भोकै लैजाने छन् ।’

अब प्रश्न थियो कि हरिबहादुरलाई खाना दिन को जाने ? बुहारीहरूले खानाको थाल उनकी सासूलाई समात्न लगाइन् । हरिबहादुरकी श्रीमतीका हात थाल समात्ने बित्तिकै थरथर काम्न थाले, मानौं खुट्टाहरू पेग्रोले बाँधिएका थिए । यो देखेर ती छिमेकी बूढी महिलाले भनिन्, ‘यसरी किन काम्न थालिस्, तेरो लोग्ने हो त्यो ! मुख बाँधेर जा, टाढाबाट थाल सर्काइ दे, उसले आफैं तानेर खाइहाल्छ ।“

हरिबहादुरले सबै कुरा चुपचाप सुनिरहेका थिए, उनका आँखा ओसिलो थिए र काम्दै ओठले भने, ‘कोही मकहाँ न आएकै राम्रो, फेरि मलाई भोक पनि छैन ।’

यसैबीच एम्बुलेन्स आइपुग्छ र हरिबहादुरलाई एम्बुलेन्समा बस्न भनियो । उनी घरको ढोकामा आउँछन् र एक पल्ट फर्किएर आफ्नो घरतिर हेर्छन् । नाति–नतिनाहरू पहिलो तलाको झ्यालबाट मास्क लगाएका हजुरबुबालाई हेरिरहेछन् र ती बच्चाहरूको पछाडि बुहारीहरू देखिन्छन् । घरको ढोकाबाट अलि टाढा वरन्डामा दुई छोराहरू आफ्नी आमालाई लिएर उभिएका थिए ।

हरिबहादुरभित्र विचारहरूको आँधीबेहरी आइरहेको थियो । उनको नातिनीले टाटा र बाई–बाई गर्दा एक क्षणको लागि ‘जिन्दगीले नै बिदाइ ग¥यो’ भन्ने महसुस गरे । आँखा रसाए, उनले तल बसेर आफ्नो घरको ढोका चुम्बन गरे । त्यसपछि एम्बुलेन्समा बसे ।

उनकी पत्नीले तुरुन्तै घरको ढोकामा पानीले भरिएको बाल्टिन खसालिन्, जसलाई हरिबहादुरले चुम्बन गरी एम्बुलेन्समा बसेका थिए । यसलाई तिरस्कार भनौं वा विवशता, तर यो दृश्य देखेर कुकुर पनि करायो र उही एम्बुलेन्सको पछि लाग्यो, जो हरिबहादुरलाई लगेर अस्पताल जाँदै थियो ।

हरिबहादुरलाई १४ दिनसम्म अवलोकन अवधिमा अस्पतालमै बस्नु प¥यो । उनका सबै जाँचहरू सामान्य थिए । कुनै बिमारी भेटिएन र उनीलाई पूर्ण स्वस्थ घोषित गरेर डिस्चार्ज गरियो । अस्पतालबाट बाहिर आँउदा उनले आफ्नो ‘मार्शल’ लाई अस्पतालको ढोकामा बसिरहेको पाए । दुवैले एक अर्कालाई अँगालो हाले, दुवैको आँखाबाट आँसुका झरना बगिरहेका थिए ।

उनका छोराहरूको लामो कार उनलाई लिन आउँदासम्म उनी आफ्नो ‘मार्शल’ सँग अर्कै दिशातर्फ लागिसकेका थिए । त्यसपछि उनी कहिल्यै देखा परेनन् । आज उनको फोटोसहित उनी वेपत्ता भएको खबर आएको छ । समाचार पत्रमा लेखिएको छ, ‘सूचना दिने व्यक्तिलाई रू. ४० हजार इनाम दिइनेछ ।’

चालिस हजार ?

हो, पढेर याद आयो कि यति नै मासिक पेन्सन पाउँथे हरिबहादुरले, जसलाई उनी परिवारमाथि हाँस्दै–हाँस्दै खर्च गरी दिन्थे ।

एकचोटी हरिबहादुरको ठाउँमा आफूलाई राख्नुहोस् । कल्पना गर्नुहोस् कि तपाईं यस कथामा ‘हरिबहादुर’ हुनुहुन्छ । तपाईंको सबै अहंकार र सबै आकर्षण समाप्त हुनेछ । त्यसैले जीवनमा केही छैन, कोही आफ्नो छैन । जबसम्म स्वार्थ रहन्छ, तबसम्म मात्र सबै तपाइंका साथमा छन् ।

कोरोनाले अहिले सारा संसारभरि मृत्युको नाच देखाई रहेको छ तर वास्तविकतामा भन्ने हो भने यसले जीवनको सार पनि बुझाइरहेको छ कि धनी–गरिब, साना–ठूला, महिला–पुरुष, धर्म–जाति, क्षेत्र–देश, राजा–भिकारी कुनै भेदभाव छैन, सबै बराबर छन् । वास्तविक धर्म मानवता हो । निःस्वार्थ भावले इमानदारिता, मीठो बोली, सद्भाव र भाइचाराका साथ परोपकार गर्नु नै उत्तम हो ।

जीवन यात्रा हो, मृत्यु यसको गन्तव्य हो । मुक्तिको ढोका कर्म हो, यही नै सत्य हो ।

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार ०८:२७