सङ्कटसँग जुध्न एकताबद्ध प्रयास गरौं : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको सङ्कट सामाधानका लागि एकताबद्ध प्रयास गर्नुपर्ने बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमवार मुख्यमन्त्री कार्यालय पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘कोरोनाले निम्त्याएको समस्याका सामु अरु विषय गौण मान्नुपर्छ,’ उनले भने ‘अहिलेको सङ्कट समाधानका लागि सबै एकताबद्ध हुनुको विकल्प छैन ।’ अत्यावश्यक सामग्रीको आपूर्ति बाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताए ।

संघका प्रतिनिधिहरूले व्यवसाय सञ्चालनका लागि वातावरण बनाइदिन मुख्यमन्त्री शाहीलाई आग्रह गरेपछि उनले तत्काल अरु व्यवसाय सञ्चालन गर्न नहुने बताएका हुन् । विश्वव्यापी सङ्कटका रूपमा देखिएको कोरोनाविरुद्ध सरकारका सबै संयन्त्र लागिरहेको बताउँदै उनले यतिबेला निजी क्षेत्रको भूमिका पनि अतिआवश्यक रहेको औंल्याएका थिए । ‘अहिले हामीले निकै नै सङ्कटपूर्ण अवस्था भोगिरहेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘सङ्कट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य हो ।’ प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको भन्दै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्बन्धमा निजी क्षेत्रले सुझाव दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७७, मंगलवार ०८:०८